नागढुंगाबाट लागू औषधसहित दुई जना पक्राउ

काठमाडौंः काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले ५ हजार एम्पुल लागु औषधसहित २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका-५ घर भएका ३५ वर्षीय उपेन्द्रकुमार र बारा सुवर्ण गाउँपालिका-७ घर भएका सोनुकुमार यादव छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले उनीहरुको साथबाट ५ हजार एम्पुल लागु औषध बरामद गरेको छ । बिहिबार पर्साबाट काठमाडौं आउँदै गरेको ना ६ख ६३७७ नम्बरको बसमा उपेन्द्रले लागु औषध ल्याएका थिए । उनको साथबाट ७ सय एम्पुल नुर्फिन, ९ सय एम्पुल डाइजेपाम र ७ सय एम्पुल फेनारगन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बुधवार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७४५० नम्बरको सुमोमा सवार सोनुको साथबाट प्रहरीले २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ । १९ वर्षीय सोनुको साथबाट ९ सय एम्पुल फेनारगन, ९ सय एम्पुल डाइजेपाम र सोही परिमाणमा नुर्फन बरामद गरिएको छ ।

कमेन्ट गर्नुहोस्