काठमाडौंः सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार शुक्रबारसम्म उक्त समूहका उपल्ला नेताहरुमा धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।
यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।
उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न आजै निर्देशन भइसकेको छ, शुक्रबार सम्ममा ४ जना नेतालगायत छाड्ने तयारी छ, अन्यको हकमा सहजीकरण हुन्छ, अन्य उपल्ला नेतालगायतहरु सबै अहिले नै छोड्ने भन्ने नहोला, अदालतमा विचाराधीन भएको हकमा सहजीकरण हुन्छ ।’