काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह)को संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सिंहदरबारमा ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको संसदीय दलको बैठकले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।
यसअघिको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो । तर संसद् विघटन बदर गर्दै सर्वोच्च अदालतले पुस ५ गतेभन्दा अगाडिकै स्थितिमा फर्किएको फैसला गरेपछि प्रचण्ड–नेपाल समूहले फेरि प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए । ‘ओलीसँग गणपूरक संख्या पनि पुग्दैन,’, प्रचण्डले भने, ‘यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं ।’
उनले ओली समूहमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरे । प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे ।
बैठकअघि प्रचण्ड–नेपाल पक्षले आफू पक्षीय ११४ सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो ।
नेकपा प्रचण्डनेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।