महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छः उपराष्ट्रपति पुन

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो औँल्याउनुभएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिनुभयो ।

महिला सशक्तीकरण कुनै पनि देशको विकाससँग जोडिएको सवाल भन्दै उपराष्ट्रपति पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्छ भन्नुभयो । उहाँले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता आवश्यक रहेको र महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा राज्यले विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उपराष्ट्रपति पुनले नेपालमा विभिन्नखाले क्रान्ति र आन्दोलनमा महिलाको सक्रिय सहभागिता रहेको र उनीहरुको संलग्नता र सङ्घर्षबाटै अहिलेको उपलब्धी भएको भन्दै उहाँहरुको योगदान र वलिदानको उच्च सम्मान प्रकट गर्नुभयो ।

याे पनि पढ्नुस  उपराष्ट्रपति पुनद्वारा बकर इदको शुभकामना

संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समानपक्षीय र राज्यका सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान अधिकारलगायत विषयमा संविधानले महिलालाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको उहाँको भनाइ थियो । उपराष्ट्रपति पुनले सामाजिक न्यायसहितको समानुपातिक व्यवस्थाले आज राज्यका हरेक निकायमा महिला सहभागिता बढेको, जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी स्वास्थ्यलगायत विविध सेवामा महिला सहभागिता बढेको बताउनुभयो । उहाँले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता र स्थानीय तहमा करीब ४१ प्रतिशत महिला सहभागी रहनु नेपाल र नेपाली महिलाका लागि मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

याे पनि पढ्नुस  उपराष्ट्रपति पुनद्वारा बकर इदको शुभकामना

उपराष्ट्रपति पुनले राज्यको उच्च तह, राज्यका भिभिन्न निकायमा महिला सहभागिता बढ्नु गौरवको विषय भएपनि महिला हिंसाका घटना न्यूनीकरण नहुनु दुःखद् पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ससाना बालबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेका छन्, कतिपय घटनाका अपराधीहरु कानूनी दायरामा आउन सकिरहेका छैनन् र महिला हिंसाका अन्य घटना पनि बढिरहेकाले यसतर्फ सबै सरोकारवाला पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ । त्यसैले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सबै प्रकारका महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी छ ।”

उपराष्ट्रपति पुनले जबसम्म स्कुल, कलेज गएका छोरी, राति अबेरसम्म काम गर्नुपर्ने छोरी, बुहारी सुरक्षित रुपमा कार्यालयबाट घर नफर्केसम्म चिन्ता गरिहनुपर्ने अवस्थाको अन्त्य हुँदैन तबसम्म सुरक्षित र सभ्य समाज निर्माण नहुने बताउनुभयो । कोभिड-१९ महामारीका कारण ठूलो आर्थिक क्षति भई अघिल्लो वर्षको आर्थिक वृद्धि करीब दुई प्रतिशत ऋणात्मक भएको अवस्थालाई मध्यनजर गर्दै यसको सामना गर्न प्रभावकारी रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औंल्याउनुभयो ।

याे पनि पढ्नुस  उपराष्ट्रपति पुनद्वारा बकर इदको शुभकामना

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेपरेजले महिलाको गुणात्मक सहभागिता र क्षमता अभिवृद्धिका लागि सबै पक्षको ध्यान जानुपर्ने बताउनुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा उत्पादित सामग्रीको बजारीकरण र उपभोगका लागि आम समुदायलाई अपिल गर्नुभयो । संस्थाको महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले महिलाले सञ्चालन गरेका उद्योग, व्यवसायलाई उत्प्रेरित गर्न सहुलियत तथा कर छुटको व्यवस्था गर्न माग गर्नुभयो ।

कमेन्ट गर्नुहोस्