खोरबाट भागेको बाघ चुरे पुग्यो, टर्‍यो खतरा

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको नरभक्षी पाटेबाघ निकुञ्जको उत्तरतर्फको पहाड र जंगल मात्र भएको चुरे क्षेत्रमा पुगेको निकुञ्जले जनाएको छ ।

धेरै मानिसलाई मारिसकेको सो बाघ बाँके निकुञ्जको खैरीस्थित ‘टाइगर होल्डिङ सेन्टर’ को खोरबाट भागेर मानव बस्तीतर्फ जाने त्रास देखिएपनि उक्त बाघ उत्तरतर्फ चुरे क्षेत्रमा गएकोले मानवलाई कुनै पनि जोखिम नरहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताए ।

याे पनि पढ्नुस  चिडियाखानामा बघिनीकाे मृत्यु, कोरोना परीक्षण गरिँदै

उनले बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा ल्याई खोरमा थुनेर राखिएको बाघ भागेपछि सो वरिपरिका मानव बस्तीमा त्रास फैलिएपनि उक्त बाघको पाइला पछ्याउँदै जाँदा मानवबस्ती नभएको उत्तरतर्फ धेरै टाढा चुरेको जंगलमा गएको पाइएकोले कुनै पनि खतरा र जोखिम नरहेको बताए ।

याे पनि पढ्नुस  चिडियाघरमा सबैको अगाडि बाघले मान्छे मार्‍यो

बाघ भागे लगत्तै त्यसका पाइला पछ्याउन थालिएको थियो । बाघ गएको क्षेत्रमा पानी तथा बासस्थानका लागि घोंचहरु रहेकाले उ फर्किएर मानव बस्ती वा मानवीय गतिविधि हुने क्षेत्रमा आउने सम्भावना नरहेको निकुञ्जका सुचना अधिकारी न्यौपानेले बताए ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ होल्डीङ सेन्टरको खोरबाटै भागेपछि निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानियलाई आग्रह गरेको थियो । गत बिहिबार बर्दियाबाट नियन्त्रणमा लिएर बाँकेमा ल्याईएको सो बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर बर्दिया जिल्लामा मात्रै यो वर्ष हालसम्म नौँ जनाले ज्यान गुमाइसकेका छन् ।

याे पनि पढ्नुस  बाघको हड्डीसहित एक पक्राउ

 

कमेन्ट गर्नुहोस्