युवा हो उठ !
युवा हो उठ एक भई जुट यो देश जोगाउन
कम्युनिष्ट मास्ने राज्यलाई नाष्ने भष्मासुर भगाउन,
हामीले सोच्यौँ स्वाधीनता देशको हिमालझैँ उठाउन
विश्वका सामु समाजवादयुक्त नेपाल चिनाउन ।
कस्तो हो तिम्रो खड्कको धार आफैंलाई सिध्याउने
न्यायका प्यारा श्रमशीलहरुको चित्कारमा रमाउने !
सत्ताको लागि विधान मिच्दै नैतिकता गुमाउने
मित्रघात गर्दै स्वार्थका लागि सामन्त समाउने,
शक्ति र धनको उन्मादमा तिमीले सुखानी बिर्सेछौ,
जाली र झेली देशमारातर्फ किन हो फर्केछौ ।
षड्यन्त्र तिम्रो फुट्ने छ छिट्टै माटोको हाँडि झैँ
तिरस्कार तिम्रो हुनेछ यहाँ देशभक्त एक भई,
रक्षाका लागि सिर्जना हाम्रो संगठित भएर
यो मातृभूमि सुरक्षित गर्ने कसम खाएर,
उठाई माथि रिक्तम झण्डा बचाऔँ स्वाभिमान
चकनाचुर पार्दै विश्वासघाती दुष्कार्य अभिमान ।
(२०७७ साल चैत्र १० गते नेपाल प्रज्ञा प्रतिष्ठान आयोजित अनेरास्ववियु राष्ट्रिय भेलामा प्रस्तुत ।)