बागलुङ । बलात्कारको झुटो आरोप लगाउने युवतीलाई जिल्ला अदालत बागलुङले ५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको छ ।
बागलुङकी एक युवतीले जाजरकोटका २९ वर्षीय केशव डाँगीले आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै २०७७ भदौ २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन् ।
युवतीले प्रहरीलाई दिएको उजुरीमा आरोपितले २०७७ जेठ २२ गते देखि असार ५ गते सम्म पटक–पटक बलात्कार गरेको उल्लेख गरिएको थियो । बिहीबार जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट कसुर ठहर नभएको भन्दै आरोपित डाँगीले सफाइ पाएका हुन ।
युवतीको उजुरी पछि पक्राउ परेका डाँगीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान पुरा गरी २०७७ असोज १४ गते जिल्ला अदालत बागलुङमा पेश गरेको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ मा झुटा मुद्दा लगाएर फसाउन खोज्नेलाई ३ महिना कैद, ५ हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार डाँगीलाई बलात्कारको झुटो मुद्दामा फसाउन खोज्ने युवतीलाई ५ हजार रुपैयाँ जरिवाना सजाय फैसला गरिएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले जानकारी दिए ।
आरोपित डाँगी जिल्ला अदालत बागलुङको असोज १५ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।