धुवाँले ढाक्यो उपत्यकाको आकाश, बाहिर ननिस्कने सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश धुवाँले ढाकेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यकाको बायुमा धुवाँ मिसिएका कारण मौसम धुम्म भएको छ ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको हो ।

वातावरणविद्ले भने काठमाडौं उपत्यकामा शुक्रबारदेखि मौसम स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन् । यसले आँखा पिरो हुने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्ने भन्दै उनीहरुले सचेत गराएका छन् । यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन वातावरणविद्ले आग्रह गरेका छन् ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको बताए ।

वन विभागका डढेलो महाशाखाका प्रमुख सुन्दर शर्माले लाङटाङ राष्ट्रिय निकुञ्जमा डढेलो लागिरहेकाले त्यहाँबाट निस्किएको धुँवा पश्चिमी वायुले काठमाडौंतर्फ ल्याएको हुनसक्ने बताए ।

 

कमेन्ट गर्नुहोस्