कोरोना त्रास : कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको हो ।

सङ्क्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न थालेका छन् । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा वर्षान्तसँगै कोरोना सङ्क्रमण कम भएको थियो । गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेका भए पनि सङ्क्रमण फैलने दर अझै नियन्त्रणमा आएको छैन ।

याे पनि पढ्नुस  कतारमा ‘सकारात्मक सोचः रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न

कतारले सङ्क्रमण पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै त्यहाँको ‘सुप्रिम कमिटी फर क्राइसिस म्यानेजमेन्ट’ को सिफारिशमा आजदेखि लागू हुने गरी ३३ बुँदे विशेष निर्देशन जारी गरेको छ । उक्त निर्देशन बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

कतार सरकारको निर्देशनानुसार अब कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्नुपर्ने, अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घरभित्र वा बन्द स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

याे पनि पढ्नुस  कतारमा पनि भब्य रुपमा मनाइयो दशै [फोटो फिचर]

सबै सार्वजनिक पार्क, सार्वजनिक स्थानलगायत सार्वजनिक स्थल आजदेखि नै बन्द गरिएको छ । ती स्थानमा एकै परिवारका दुई जनाभन्दा बढी जान नपाउने निर्देशन कतार सरकारबाट जारी भएको दूतावासले जनाएको छ । कोरोनाको जोखिम बढेसँगै कतारले व्यापारिक भवनमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरेको छ ।

१२ वर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्तास्थलमा जान बन्देज लगाइएको छ । सवारी साधन प्रयोग गर्दा मास्क अनिवार्य गरिएको छ । एउटा सवारी सधानमा चालकसहिच चार जनाभन्दा बढी यात्रा गर्न नपाइने व्यवस्था रहेको पनि दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

याे पनि पढ्नुस  दशै तिहारको अवसरमा कतारमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना,तयारी तीब्र

घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको कोरोनाको जोखिम विश्लेषण गर्ने मोबाइल एप्लिकेसन हुनैपर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासले कतार सरकारले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न त्यहाँ रहेका नेपाली समुदायमा आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्