नेपालगञ्ज नाकामा कडाई

नेपालगञ्जः भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै यहाँस्थित नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट कडाई सुरु गरिएको छ । भारतमा कोरोना बढे पछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

उनले गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आए लगत्तै नेपाल भारत सीमानामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण सुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताए । शुक्रबारदेखि उपचार वा अति आवश्यक काम बाहेक सीमापारी सामान किनमेल र अन्य सामान्य कामले आउने जानेलाई रोकिएको प्रजिअ कुरुम्वांगले बताए ।

अनावश्यक आवागमनलाई बन्द गरिएपछि नाकामा आवागमन गर्नेहरुको भिड् लागेको जमुनाह प्रहरी कार्यालयले जनाएको छ । जमुनाह प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीले नाकामा हुँदै आएको अनावश्यक आवगमनमा कडाई गरिएपछि नाकामा भिड् लागेकोले व्यवस्थापनमा समस्या भएको बताए ।

कमेन्ट गर्नुहोस्