बर्मामा बालबालिकासहित सय बढी प्रदर्शनकारीको हत्या, अमेरिका र युएनद्वारा मर्माहत भएको प्रतिक्रिया

एजेन्सी । म्यानमारको पछिल्लो घटनाले स्तब्ध बनाएको अमेरिकाको टिप्पणी छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन्।

शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन भएको छ।

एक सय जना भन्दा बढी मानिस मारिएको बताइएको छ।

ब्लिङ्कनले भने,”शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्छन् भन्ने देखाएको छ।” “बर्माका साहसी मानिसहरूले सैनिकहरूको आतङ्कित पार्ने किसिमको शासन अस्वीकार गरेका छन्।”

अमेरिकी दूतावासले त्यसअघि सुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो।

यस्तै, संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले पनि आफूलाई घटनाले स्तब्ध बनाएको बताउनुभएको छ ।
ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले त्यसको निन्दा गरेका छन्।

चेतावनी दिँदादिँदै पनि प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिका सहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको हो।

राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ले ९१ जना मारिएको जनाएको छ। स्थानीय सञ्चार माध्यमले सङ्ख्या त्यो भन्दा बढी रहेको जनाएका छन्।

कमेन्ट गर्नुहोस्