काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (राजपा)मा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
पौडेल र ठाकुरबीच आइतबार बिहान ठाकुरको निवास हात्तीवनमा भेटवार्ता भएको हो । नेता पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार पौडेल ठाकुरलाई भेट्न साढे ९ बजे पुगेका थिए । उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको थियो ।
भेटवार्ता मा नयाँ सरकार गठनबारे कुराकानी भएको बताइएको छ । उनीहरूबीच गठबन्धन बनाएर अगाडि जाने विषयमा छलफल भए पनि कुनै औपचारिक सहमति भएको छैन ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय गरेको थियो । त्यसको दुई दिनपछि नयाँ सरकार गठनबारे अग्रसरता लिँदै पौडेलले ठाकुरलाई भेटेका हुन् ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याइने पौडेलले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
कांग्रेसको शुक्रबारको निर्णयपछि नयाँ सरकारबारे दलहरू छलफलमा जुटेका छन् । नयाँ सरकार गठनमा राजपा निर्णायक छ ।
आजै राजपा अध्यक्ष ठाकुरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्ने कार्यक्रम छ ।
कांग्रेसको निर्णयसँगै गठबन्धन सरकारका लागि संवाद सुरु, कस्तो हुनेछ त समीकरण ?