काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको छ ।
सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीको रिहाइ हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने संविधान संशोधन हुनुपर्ने र मधेश थारुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकार समक्ष राखेको थियो ।
सोही माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रिया अघि बढाएसँगै जसपाले मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाउन शुरु गरेको हो । जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । सोही कार्यविधि अनुसार सरकारले जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाएको थियो ।
उक्त प्रक्रियाबारे जसपाको नेता एवं कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लले मुद्दा र बन्दीको विवरण गृहमन्त्रालय पठाउन शुरु भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले राखेको माग पूरा गर्न कार्यदल बनाएका छन् । कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मलाल कर्ण छन् ।