हनुमानको जन्मस्थानका बारेमा विवाद, बन्यो छानबीन समिति

नयाँ दिल्ली । रामको जन्मस्थानका बारेमा विवाद चुलिएको भारतमा अब भने हनुमानको जन्मस्थानका बारेमा बहस शुरु भएको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार, कर्नाटक र आन्ध्र प्रदेश सरकारले हनुमानको जन्मस्थानमाथि दावी गरेका छन् ।

कर्नाटकका एक धार्मिक नेताले हनुमानको जन्म कर्नाटकको उत्तर कन्नड जिल्लाको गोकर्णामा भएको दावी गरेका छन् । यसअघि कर्नाटकले हनुमानको जन्म कोप्पल जिल्लाको किष्किन्धामा रहेको अन्जनाद्री पहाडीमा भएको दावी गरेको थियो ।

तर आन्ध्र प्रदेशले भने हनुमानको जन्मभूमि तिरुपतिका सात पहाडमध्ये एउटा अन्जनान्द्रीमा रहेको दावी गरेको छ । शिवमोग्गामा रामचन्द्रपुर मठका प्रमुख राघेश्वर भारती भारतीले रामायणलाई उद्दृत गर्दै गोकर्णामा समुन्द्र किनारमा हनुमानको जन्म भएको दावी गरेका हुन । उनले गोकर्णा हनुमानको जन्मभूमि र किष्किन्धा कर्म भूमि भएको रामायणमा उल्लेख रहेको बताएका छन् ।

यो विवादबीच तिरुमाला तिरुपति देवस्थानमले एक विशेषज्ञ समिति गठन गरेको छ । यो समितिलाई २१ अप्रिलसम्म अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यो समितिमा वैदिक मामिलाका जानकार, पुरातत्वविज्ञानी र इसरोका वैज्ञानिक समेत रहेका छन् ।

कमेन्ट गर्नुहोस्