लकडाउन गर्नु नपरोस् भनेर सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउनको परिस्थिति नरहेको बताएका छन् ।

नयाँ वर्षका अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कतिपय देशहरुले अवस्था बिग्रेपछि लकडाउन गर्नुपरेको उल्लेख गर्दै नेपालमा त्यो अवस्था नआवोस भनेर सतर्कता अपनाउनुपर्ने बताए ।

सरकारले जारी गरेका सुरक्षाका मापदण्ड पालना गरेर नागरिक आफैं सुरक्षित रहे कोरोना नियन्त्रणका लागि लकडाउन गर्न आवश्यक नरहेको उनको आशय थियो ।

सरकारले सतर्कता विधिलाई नै कोरोना नियन्त्रणका लागि अघि सारेको बताउँदै प्रधानमन्त्रीले परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको बताए । “ सबैले मापदण्ड पालना गर्दै सावधानी अपनाउन अपील गर्दछु ।” उनले भने ।

कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भन्दै आफू त्यो पक्षमा नरहेको उनले बताए ।

सम्बोधनका क्रममा ओलीले सरकारले असहज परिस्थितिमा पनि उल्लेख्य उपलब्धि हासिल गरेको बताए । सरकारले विकास निर्माणका कामलाई उच्च प्राथमिकताका राखेकाले निराशा जगाउन खोजिएका प्रयासहरु मान्य नहुने उनको भनाई थियो।

लामो समयदेखिको प्रतीक्षामा रहेका मेलम्ची खानेपानी काठमाडौंमा ल्याएको, पुनर्निर्माणका काममा प्रगति भएको, कृषि उत्पादनका कारण अर्थतन्त्र निराशाजनक नभएको, यातायात क्षेत्रमा प्रगति भएको जस्ता उपलब्धिको सूचि समेत सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीले विदेशा असुरक्षा रहेकाले देशभित्रै रहेर उपयुक्त रोजगारीका अवसर खोज्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्