भारतमा एकैदिन २ लाख १६ हजार संक्रमित, नेपालका सीमा नाकाका जिल्ला उच्च जोखिममा

काठमाडौं । भारतमा संक्रमण तीब्र भएपछि नेपालमा पनि कोरोना संक्रमणको जोखिम उच्च हुन पुगेको छ ।

बुधबारका दिन २ लाख संक्रमित देखिएको भारतमा बिहिबार संक्रमण बढेर २ लाख १६ हजार ६४२ जनामा कोरोना संक्रमण फेला परेको छ ।

भारतमा एकैदिन यति धेरै संख्याका कोरोना संक्रमति देखिएको यो पहिलो घटना हो ।

भारत सरकारका कैयन शहर र राज्यमा लकडाउन घोषणा गरिएको छ । तर संक्रमणको उच्च जोखिम रहेका महाराष्ट्र, तमिलनाडु, केरला, उत्तर प्रदेश, दिल्ली लगायतका राज्यबाट आवतजावत गर्नेको संख्यामा भने कमी देखिँदैन ।

खासगरी यी राज्यमा कामको खोजीमा गएका प्रवासी भारतीय तथा नेपालीहरु घर फर्किने लहर बढेको छ । भारतमा कोरोना संक्रमणमा कमी आएपछि यसअघि घर फर्केका नेपालीहरु समेत हजारौंको संख्यामा भारत गएका थिए ।

भारतमा संक्रमणले तीब्र गति लिएपछि नेपालीहरु घर फर्किने क्रमसँगै सीमावारि समेत संक्रमणको जोखिम बढेको हो ।

भारतबाट नेपाल फर्किने संख्या बढ्ने देखिएपछि नेपाल भारत सीमा नाकामा थप उच्च सतर्कता र जाँचको सुविधा बढाउनुपर्ने देखिन्छ ।

नेपालमा राजधानी काठमाडौंमा नै उच्च संक्रमण देखिएपनि सीमा नाकामा कडाइ गर्न नसकिए संक्रमणको उच्च दर तराई र सुदूरपश्चिमका जिल्लामा हुनसक्ने सम्भावना रहेको छ ।

भारतमा बिहिबार मात्रै १, १८२ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रको पुने, मुम्बई, नागपुर, थाने, नासिक जस्ता जिल्लाहरुमा उच्च संक्रमण देखिएको हो । बिहिबार मात्रै महाराष्ट्रमा ६१ हजार ६९५ जनामा संक्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्