कोरोना बढ्दै गएपछि कुम्भ मेला स्थगित भएको घोषणा, ५ दिनमा २१ सय बढी साधु संक्रमित

हरिद्वार । कोरोना संक्रमण बढ्दै गएपछि हरिद्वारका अखाडाहरुले कुम्भ मेला स्थगित भएको घोषणा गरेका छन् ।

मेलामा लाखौं मानिस ओइरिएपछि संक्रमण बढेको हो ।

पछिल्लो ५ दिनयता मात्रै २ हजार १६७ जनामा कोरोना देखिएको थियो ।

भीड बढ्दै गएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन नसकिएको बताउँदै मेला समाप्त गर्न अखाडाहरुमा दबाब थपिएको थियो ।

निरन्जनी अखाडाका सचिव रविन्द्र पुरीले कुम्भको शाही स्नान समाप्त भएकोले अब मेला स्थगित भएको बताए । निरन्जन अखाडाका कैयन साधुसन्त समेत संक्रमित भएको उनले जनाएका छन् । अधिकारीहरुले भने मेला ३० अप्रिलसम्म चल्ने बताएका छन् । तर हरिद्वारमा रहेका कैयन अखाडाहरुले भने स्वयम्ले नै मेला समाप्त भएको बताएका हुन ।

निरन्जन अखाडाले घोषणा गरेपछि अन्य अखाडाहरुले पनि कुम्भ समाप्तीको घोषणा गर्नसक्ने देखिएको छ ।

कोरोनाकै कारण जनवरीमा शुरु हुने मेला १ अप्रिलमा भएको थियो । मेलामा नेपालका पूर्व राजा ज्ञानेन्द्रको शाही अभिषेक र शाहीस्नान गरिएको थियो ।

गत वर्ष तबलिगी जमातका २ हजार जना दिल्लीमा भेला भएपछि कोरोना संक्रमण तीब्र बनेको थियो । त्यतिखेर कोरोना संक्रमण फैलिनुमा तबलिगी जमातलाई दोषी मानिएको थियो । अहिले कुम्भमा समेत लाखौं मानिस जम्मा भएपछि चर्को आलोचना भएको हो । बुधबारको शाही स्नानमा मात्रै १४ लाख मानिसले भाग लिएका थिए ।
यसैबीच निर्वाणी अखाडाका महामण्डलेश्वर कपिल देवको कोरोनाकै कारण निधन भएको छ ।
सरकारले भने निर्देशिका जारी गर्दै कडाई गर्न खोजेपनि अवस्थामा फरक आउन सकेको थिएन ।

कमेन्ट गर्नुहोस्