भारतमा एकैदिन २ लाख ३४ हजार संक्रमित, पौने १२ करोडलाई खोप

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी निम्त्याएको छ । शुक्रबारका दिन आजसम्मकै धेरै संक्रमित देखिएपछि भारत सबैभन्दा धेरै संक्रमण दर हुने देशहरुको शीर्ष सूचिमा पुगेको छ ।

भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण तीब्र फैलिएको हो । वल्र्ड मिटरका अनुसार, भारतमा शुक्रबार मात्रै संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ९४३ पुगेको छ ।
त्यसो त भारतले खोप अभियानलाई तीब्रता नदिएको होइन । अहिलेसम्म ११ करोड ७७ लाख जनालाई कोरोना खोप दिइसकेको छ । तर खोप लगाएकाहरुमा समेत कोरोना देखिएपछि अवस्था डरलाग्दो बनेको हो ।

भारतको महाराष्ट्र, यूपी, केरला, तमिलनाडु जस्ता राज्यमा संक्रमण उच्च देखिएको हो ।

यता उत्तराखण्डमा समेत कुम्भ मेलाका कारण संक्रमण बढेको छ । कुम्भमा आएका साधुहरुमा संक्रमण बढदै गएको छ ।

संक्रमण बढ्दै गएपछि महाराष्ट्र, नयाँ दिल्ली लगायतका कतिपय राज्यमा लकडाउनको घोषणा गरिएको छ । तर लकडाउनको घोषणा हुँदा समेत कोरोना संक्रमणमा भने झन बृद्धि भएपछि यसले चिन्ता थपेको हो ।

कोरोना संक्रमणसँगै यसबाट मृत्यु हुनेको संख्या समेत बढेको छ । शुक्रबार मात्रै भारतमा १३३८ जनाको मृत्यु भएको छ ।

कोरोनाको उच्च चाप देखिएपछि स्वास्थ्य संस्थाहरु समेत संकटपूर्ण अवस्थामा पुगेका छन् । अस्पतालमा बेडको अभाव हुँदा समस्या देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्