कुशल र आशिफको कीर्तिमानसँगै नेदरल्याण्ड्सविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । आजदेखि काठमाडौंमा सुरू भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध ९ विकेटले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा १५ ओभरमा पुरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले अर्धसतकीय पारि खेले ।

कुशलले ४६ बलमा ६२, आशिफले नटआउट ३८ बलमा ५४ र कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ७ बलमा १३ रन बनाए ।

योसँगै कुशलले डेब्यू म्याचमै कम बलमै अर्धशतक बनाउने कीर्तिमानसमेत बनाएका छन् । कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

कुशल भुर्तेलले नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेको खेलमै सर्वाधिक रन प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।

यसअघि डेब्यूमै अर्धशतक बनाउने कीर्तिमानसहित सर्वाधिक रन सन्दीप जोराको नाममा थियो । उनले नटआउट ५३ रन जोडेका थिए ।

आशिफ र कुशलबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी बन्यो । योसँगै उनीहरूले पारस खड्का र ज्ञानेन्द्र मल्ललको कीर्तिमान भंग गरेका छन् ।

यसअघि टी–२० मा नेपालको तर्फबाट पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रबीच १०८ रनको साझेदार बनेको थियो ।

बलिङमा जुलियनडे मेले एक विकेट लिए ।

त्रिवि मैदानमा टस हारेर ब्याटिङको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

उसका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए । उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे ।

त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्