कतारमा पनि नोटबन्दी, असार १७ देखि पुराना नोट नचल्ने, २७ गतेसम्म रियल सटही गर्न राष्ट्र बैंकको आग्रह
काठमाडौं । कतार सरकारले पुराना नोटको स्थानमा नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।
आगामी जुलाई १ गतेदेखि पुराना नोटहरु विस्थापन गर्दै नयाँ नोट प्रचलनमा आउने भएकोले कतारको रियल सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकले आगामी २७ गतेसम्म सटही गरिदिने बताएको छ । २७ गतेपछि भने सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।
यसअघि भारतले समेत पुराना नोट बन्द गर्दै नयाँ रुपैयाँ जारि गरेको थियो । भारतले एकाएक नोटबन्दी गर्दा भारत र अन्य देशमा ठूलो संख्यामा नोट सटही गर्न सकिएको थिएन ।
राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
आजको मितिमा कतारी एक रियलको नेपाली ३२ रुपैयाँ ९० पैसा रहेको छ ।