सेयर बजारमा कोरोनाले असर गर्दैन, ढुक्क भएर कारोबार गर्दा हुन्छ- इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि शेयर बजारमा यसको असरलाई लिएर बिभिन्न आँकलन हुन थालेका छन् । कतिपयले कोरोनाका कारण शेयर बजारमा असर हुने बताएपनि लगानीकर्ताहरुको मञ्चका अध्यक्ष छोटेलाल रौनियार भने कोरोना संक्रमणको पूँजि बजारमा असर नपर्ने बताउँछन् ।

बिजशाला अनलाईनले उल्लेख गरे अनुसार रौनियारले कोरोनाकालमा नै नेपालको शेयर बजारले ऐतिहासिक उचाई लिएको बताएका छन् ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा कोभिडको असर खासै नपर्ने भएकोले लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्। ‘केभिड त्रासकै कारण लगानीकर्ताको मनोबल घट्दो केही दिन बजार घट्यो तर आज बढेको छ’, रौनियार भन्छन्, ‘बजार घट्नुपर्ने कारण नै छैन।’

कोरोनाकै कारण ठूलो संख्यामा अहिले सेयर बजारमा लगानीकर्ता भित्रिएको उल्लेख गर्दै रौनियार कोरानाकालमै बजारले ऐतिहासिक छलाङ मारेको कुरा कसैले बिर्सन नहुने पनि बताउँछन्। ‘अन्य क्षेत्रमा कोरोनाले असर गर्ला तर सेयर बजारमा असर गर्दैन’, उनी भन्छन्, ‘सेयर बजार सुरक्षित रहेकोले ढुक्क भएर कारोबार गर्दा हुन्छ।’

बैंक तथा वित्तीय संस्थाहरुको त्रैमास रिपोर्ट राम्रो आउनु, बैंक ब्याजदर एकल विन्दुमा रहनुजस्ता कारणले बजार सकारात्मक नै रहेको रौनियारको तर्क छ। ‘अहिले नै आत्तिएर बजारबाट बाहिरिनुपर्ने अवस्था छैन’, उनले भने, ‘यतिबेला बरु कमाउने अवसर, अवसरको सबैले सदुपयोग गर्नुपर्छ।’

अहिले पनि सेयर बजारमा अन्डरभ्यालु भएका क्षेत्र निकै रहेकोले राम्रा कम्पनीहरु छानेर लगानी गर्दा फाइदै हुने रौनियारले सुझाव दिए। ‘पुँजी बजार विस्तार र विकासमा नियामक निकायहरुबाट पनि धेरै काम भएका छन्’, उनले भने, ‘अझै सुधारका काम गर्न बाँकी नै छन्, गर्दै जानुपर्छ।’

कोभिडको प्रभाव बढे अन्य क्षेत्रको पैसा पनि सेयर बजारमा आउने हुँदा बजार नयाँ उचाइ लिन रौनियारको बुझाइ छ।

कमेन्ट गर्नुहोस्