सकियो ओली र नेपालबीचको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरियटमा भेटवार्ता सकिएको छ ।

उनीहरूबीच आज दिउँसो २ बजेदेखि भेटवार्ता सुरू भएको थियो ।

आजको भेटमा पार्टीमा देखिएको विवादबारे ओली र नेपालबीच छलफल भएको बताइएको छ ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले कुराकानीमा कुनै प्रगति नभएको बताए । नेता नेपालले हिजोको आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको बताए ।

आजको वार्तामा पनि नेता नेपालले अध्यक्ष ओलीसँग उनले २०७७ फागुन २८ गते गरेका निर्णय फिर्ता गर्दै पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा लैजानु पर्ने बताएका थिए । ओली भने उनको मागमा सहमत भएनन् ।

वार्ता सकेर प्रधानमन्त्री ओली होटलबाट बाहिरिएपछि उनका आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेता नेपालसँग छलफल गरेका थिए । दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भइरहेको दाबी गरे ।

भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका थिए ।

उनीहरूबीच बुधबार साँझ होटल मेरियटमा दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । उनीहरू बुधबार दुई घण्टासम्म कुराकानी गरेर फेरि भेट्ने भन्दै उठेका थिए ।

एमालेमा नेपालले समानान्तर गतिविधि अगाडि बढाइरहेका छन् । आजको भेटलाई हिजोकै निरन्तरताका रूपमा नेताहरूले अर्थ्याएका छन् ।

नेता नेपालले फागुन २८ को निर्णय सच्याउन ओलीलाई आग्रह गरेका छन् । तर ओलीले गुटका कुरा नसुन्ने बताइरहेका छन् ।

कमेन्ट गर्नुहोस्