कोरोना संक्रमितले भरियो अस्पताल, एक सातादेखि छैनन् अस्पताल प्रमुख, ओली सरकारमा मात्रै ७ जना मेसु परिवर्तन

चितवन, चितवनको मुख्य अस्पतालका रुपमा चिनिएको भरतपुर अस्पतालमा कोरोना बिरामीको संख्यामा उल्लेख्य बृद्धि हुँदा समेत स्वास्थ्य मन्त्रालयले अस्पताल प्रमुख नियुक्त गर्न सकेको छैन ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेस) नियुक्त हुन नसक्दा अस्पतालका सेवा समेत प्रभावित बनेका छन् । सरकारले आफुखसी मेसु नियक्ति र हटाउने क्रमले निरन्तरता पाएकोले नयाँ मेसु नियुक्त हुन सकेका छैनन् ।

सेतापाटी अनलाईनमा प्रकाशित समाचार अनुसार, केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री भएयताको तीन वर्षे अवधिमा यस अस्पतालमा ७ जना मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन्। अस्पताल प्रमुख बनेर आउने अधिकांश डाक्टरले दुईतीन महिनामात्रै काम गर्ने अवसर पाएका छन्।

याे पनि पढ्नुस  चितवनका युवकले पनि जिते कोरोना, आजै डिस्चार्ज हुँदै

ओली प्रधानमन्त्री हुँदा डा।रुद्रप्रसाद मरासिनी अस्पतालका प्रमुख थिए। त्यसयता डा।रविन खड्का ४ महिना, डा.कृष्णप्रसाद पौडेल ७ महिना, डा।विश्वबन्धु बगाले डेढ महिना, डा.श्रीराम तिवारी ११ महिना, डा।राजन पाण्डे तीन महिनाभन्दा पनि थोरै, डा.जगन्नाथ तिवारी आर्थिक अधिकारसहितको निमित्त मेसु बनेर तीन महिना र डा.वासुदेव पाण्डे २ महिनामात्रै टिके।

याे पनि पढ्नुस  कोरोनाबाट वडाध्यक्षको मृत्यु

अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू बिरामीले भरिएको र कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य शैया पनि भरिने क्रममा छन्।

चितवन र आसपासका जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले प्रभावकारी सेवामा बृद्धि गर्नुपर्ने बाध्यता रहेको छ ।

महामारीको बेला समेत मन्त्रालयले तत्काल निर्णय गरी मेसु नपठाएकोमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् । जिम्मेवार अधिकारी नहुँदा कतिपय अधिकार नहुने भएकोले काम गर्न कठिनाई भएको उनीहरुको गुनासो छ ।

याे पनि पढ्नुस  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

‘अस्पतालको आर्थिक कामको जिम्मेवारी मेसुकै हुन्छ, मेसु नहुँदा उपचारका लागि आवश्यक सामग्री खरिद गर्न, नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्न समस्या भएको छ,’ प्रवक्ता युवानिधि बसौलाले भने, ‘स्वास्थ्य मन्त्रालयले छिट्टै नयाँ मेसु पठाउँछौं भने पनि पठाएको छैन।’

कमेन्ट गर्नुहोस्