दिल्लीबाट नेपाल ल्याउँदै गर्दा बाटाेमै बिरामीकाे मृत्यु, बाेर्डर पुर्याउँदा सिडिओले मागे ‘डेथ सर्टिफिकेट’

महेन्द्रनगर । बैतडीको दोगडाकेदार गाउँपालिका घर भई रोजगारीका क्रममा भारतको नयाँदिल्लीमा रहेको बेला सुदूरपश्चिमेली नेपाली समाज भारतको दिल्ली राज्य समितिका पूर्व कोषाध्यक्ष मनोज भट्ट केही दिनअघि कोरोना भाइरस संक्रमणले गम्भीर बिरामी भए ।

श्वासप्रश्वासमा समस्या देखिएको र दिल्लीमा उपचार सम्भव नभएपछि उनलाई कञ्चनपुरको महाकाली अस्पताल पुर्‍याउन दिल्लीबाट नेपालतर्फ पठाइयो । तर बाटोमा गम्भीर बिरामी भएर भट्टको मृत्यु भयो ।

दिल्लीमा अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउँदै गर्दा भारतको मुरादाबादमा भट्टको मृत्यु भयो । सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले भारतका दर्जनौं अस्पतालमा कोसिस गर्दा पनि भर्नाको लागि ठाउँ नपाएर नेपाल ल्याउँदै गर्दा मृत्यु भएको जानकारी दिए ।

कोरोना महामारीको दर्दनाक अवस्थामा सर्वसाधारणले न उपचार पाइरहेका छन्, न राज्यबाट सहयोग । त्यस्तै अवस्था भयो मृतक भट्टको सन्दर्भमा पनि ।

मृतक भट्टको बाटोमै मृत्यु भएपछि शवलाई नेपाली सीमा गड्डाचौकीसम्म पुर्‍याइयो । आफन्तहरू बैतडी र कञ्चनपुरमा रहेकाले धार्मिक संस्कारका कार्य गर्न शवलाई नेपाल नै ल्याइएको थियो । तर नेपाल सरकारको प्रतिनिधिको रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले बखेडा झिके ।

याे पनि पढ्नुस  दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत सम्भार सकियो

मृतक भट्टको अन्त्येष्टि सरकारी मापदण्ड अनुसार सुरक्षित रूपमा सरकारबाटै होस् भन्ने आग्रह परिवारको तर्फबाट कञ्चनपुरका सीडीओ रामकुमार महतोलाई गरियो । अन्त्येष्टि त कहाँ हो कहाँ, मृतक भट्टको शव नेपाल प्रवेश नै गर्न दिइएन । गड्डाचौकी सीमानाकामा खटिएका सुरक्षाकर्मीले सीडीओको आदेश नभई जान दिन नसकिने प्रतिक्रिया दिए ।

त्यसपछि बैतडीबाट निर्वाचित प्रदेशसभा सांसद लिलाधर भट्टले कञ्चनपुरका सीडीओसँग महतोसँग कुरा गरे । तर सीडीओ महतोले भट्टको ‘मृत्यु प्रमाणपत्र’ चाहिने जवाफ दिए । ‘दिल्लीमा अक्सिजन नपाएर नेपाल ल्याउँदै गर्दा गाडीमा रहेका बेला बाटोमा मृत्यु भएको व्यक्तिको मृत्यु प्रमाणपत्र कहाँबाट ल्याउने भनेर आग्रह गर्दा पनि सीडीओले मानेनन्, कस्ता सीडीओ रहेछन्, कुरै नबुझ्ने ?’ सांसद भट्टले भने ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि नेपाली सेनाको टोलीले सुरक्षित रूपमा गर्ने सरकारी निर्णय छ । तर त्यसका लागि सीडीओले आदेश दिनुपर्छ । सीडीओलाई आदेशका लागि र अन्त्येष्टि प्रक्रिया अगाडि बढाइदिन सांसदले आग्रह गर्दा समेत कञ्चनपुरका सीडीओले मानेनन् । बरु उनले गाडीका मृत्यु भएका व्यक्तिको ‘मृत्यु प्रमाणपत्र’ मागिरहे । अस्पतालमा मृत्यु नभएकाले परिवारका सदस्यले मृत्यु प्रमाणपत्र दिनसक्ने अवस्था थिएन । सीडीओले कुरै बुझेनन्, अमानवीय व्यवहार देखाएको आफन्तको गुनासो छ ।

याे पनि पढ्नुस  कञ्चनपुरका १ प्रहरी जवानमा आरडीटी पोजिटिभ

बैतडीको दोगडाकेदार गाउँपालिकास्थित भूमिराज मावि चडेपानीका शिक्षक रहेका मृतकका भाइ पदमराज भट्ट बैतडीबाट साँझ कञ्चनपुर पुगेपछि धनगढीमा रहेका आफन्त सहितको उपस्थितिमा महाकाली नदी किनारको भुजेलाघाटमा भट्टको दाहसंस्कार गरियो ।

‘कञ्चनपुरका सीडीओले अन्त्येष्टिमा सहयोग गरेनन्, त्यसपछि कोरोनाको चुनौती हुँदाहुँदै पनि हामी आफन्तले आफैं अन्त्येष्टि गर्नुपर्‍यो,’ मृतकका भाइ पदमले भने ।

मृतकका काका अर्जुन भट्टले शवलाई गड्डाचौकीबाट नेपाल ल्याउन समेत नदिएको थाहा पाएपछि बुधवार साँझ आफू धनगढीबाट महेन्द्रनगर गएर दाहसंस्कार गरिएको बताए । उनका अनुसार सरकारले कोभिड संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि सरकारले गर्ने मापदण्ड बनाए पनि कञ्चनपुरका सीडीओले नमानेपछि आफन्तले दाहसंस्कार गरेको छन् ।

सीडीओ महतोको व्यवहारप्रति असन्तुष्टि हुँदै पत्रकार श्याम भट्टले सामाजिक सञ्जाल फेसबूकमै असन्तुष्टि पोखेका छन् । त्यसमा प्रतिक्रिया जनाउँदै पत्रकारहरू दिपेन्द्र बस्नेत, राजेन्द्र विष्ट लगायतले सीडीओ महतोले फोन नउठाउने गरेको गुनासो गरे । पत्रकार विष्टले लेखेका छन्, ‘ जिम्मेवार व्यक्तिबाट यस्तो अमानवीय व्यवहार हुनु दुःखद छ, आगामी दिनहरूमा जनतालाई यस्तो दुःखद अवस्था नआओस्, सबैले आ–आफ्नो जिम्मेवारी र कर्तव्य पालना गरौ ।’  प्रमुख जिल्ला अधिकारीले भने भट्टकाे स्टाटसमा कमेन्ट लेख्दै अाफ्नाे कदम पुष्टि गर्न खाेजेका छन् । उनले लेखेका छन्: तपाईंले आफ्नो न्यूनतम् नैतिकता गुमाएको देख्दा दुख लाग्यो । चार पटक कल गरेको भन्नु भा’छ, मेरो मोबाइलमा ३ पटक कल आएको देखिन्छ । आज बिहानै स्वास्थ्य सेवा विभागका महानिर्देशकज्यूसँग कोभिडको विषयमा व्यस्त थियौं । त्यसबीचमा कति कल रिसिभ गर्न सकिएन । अनुकूल समयमा तपाईंलाई पनि ३ पटक कल व्याक गरेको रहेछु । तपाईं पनि रिसिभ गर्नु भा छैन । तर सामाजिक सञ्जालमा नामै लेखेर आलोचना गर्दा तपाईंलाई आन्नद प्राप्त भयो होला । तपाईंको कल्याण होस् ।

कमेन्ट गर्नुहोस्