नवनियुक्त खेलकुदमन्त्री मनाङेले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद विस्तार गरेका छन् ।

गण्डकी प्रदेशमा हाल रहेका मन्त्रालयलाई छुट्टाएर युवा तथा खेलकुद मन्त्रीमा मनाङबाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे)लाई नियुक्त गरेका हुन् ।

गत प्रदेशसभाको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा विजयी गुरुङ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेपनि सर्वोच्चको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि स्वतन्त्र हैसितमा रहेका थिए ।

प्रदेशसभा आफूलाई स्वतन्त्र सदस्यको हैसित दिन माग सहित निवेदन दिनुभएका गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने अनुमान गरिएको थियो । अविश्वासको प्रस्तावमा मतदान हुने दिन प्रदेशसभामा अनुपस्थित गुरुङले मनाङका जनताको आग्रहमा अविश्वासको प्रस्तावको पक्षमा जान नसकिएको बताएका थिए ।

नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराए । मन्त्रीमा नियुक्तीपछि गुरुङले युवा तथा खेलकुद क्षेत्रमा केही नयाँ काम गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका एक सदस्य सम्पर्कमा नआएपछि प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

छ वटा मन्त्रालय रहेको गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्तिसँगै मन्त्रालयको सङ्ख्या सात पुगेको छ ।

कमेन्ट गर्नुहोस्