कोरोना अस्पतालमा आगलागी हुँदा १८ को मृत्यु

गुजरात । गुजरातको भरुजमा रहेको पटेल वेलफेयर कोभिड अस्पतालमा शुक्रबार राती आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ ।

पिटिआईका अनुसार, आगलागी भएको बेला अस्पतालमा ५० जना बिरामी रहेका थिए । अन्य बिरामीलाई नागरिक अस्पताल, सेवाश्रम अस्पताल र जम्बुसर अल महमूद अस्पतालमा भर्ना गरिएको छ ।

समाचार अनुसार, राती करिब साढे १२ बजेतिर शर्ट सर्किटका कारण आगलागी भएको थियो । केही घण्टामा आगलागीमा नियन्त्रण गर्न सकिएपनि १८ जना बिरामीको भने निधन भएको थियो ।

आगो लागेको सूचना पाउने बित्तिकै १२ फायर बिग्रेड र ४० एम्बुलेन्स गाडीहरु घटनास्थलमा पुगेका थिए । अस्पताल परिसरमा ५, ६ हजार जना आफन्तहरुको भीड लागेको समाचारमा छ ।

निकै कोशिसपछि बिरामीहरुलाई बाहिर निकाल्न सकिएको थियो । गत महिना पनि मुम्बईको भान्डुप क्षेत्रको एउटा सुपरमार्केटमा आगो लाग्दा १० जनाको मृत्यु भएको थियो । नोभम्बरमा गुजरातको कोरोना अस्पतालमा आगलागी हुँदा ५ जना बिरामीको जलेर मृत्यु भएको थियो । यसैगरी ग्वालियरको जयारोग्य कोभिड सेन्टरको आगलागी भएको थियो । अहमदाबादको श्रेय कोभिड अस्पतालको आगलागीमा ८ जनाको निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्