दिल्लीले पायो बलियो लक्ष्य, कप्तानले खेले उत्कृष्ट पारी

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको २९औँ म्याचमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो ।

उसका लागि कप्तान मयंक अग्रवालले उत्कृष्ट पारी खेले । उनले ५८ बलमा आठ चौका र चार छक्कासहित अविजित ९९ रन बनाए ।

केएल राहुल अस्वस्थताका कारण अस्पताल भर्ना भएपछि मयंकले आज पञ्जाबको कप्तानी पाएका हुन् ।

त्यस्तै, दिल्लीविरुद्ध डेविड मलानले २६, क्रिस गेलले १३ र प्रभसिमरण सिंहले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कागिसो रबाडाले तीन, अक्षर पटेल र आवेश खानले एकएक विकेट लिए ।

जारी सिजनमा दिल्लीले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । पञ्जाबले सात म्याचमध्ये चारमा जित र तीन खेलमा हार ब्यहोरेको छ ।

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, स्टिभ स्मिथ, ललित यादव, अक्षर पटेल, कागिसो रबाडा, आवेश खान र इशान्त शर्मा ।

पञ्जाबको प्लेइङ-११ : मयंक अग्रवाल (कप्तान), प्रभासीमरण सिंह, क्रिस गेल, डेविड मलान, दीपक हूडा, शाहरुख खान, हरप्रीत ब्रार, क्रिस जोर्डन, रिले मेरिडीथ, रवि विश्नोई र मोहम्मद शामी ।

कमेन्ट गर्नुहोस्