बिल र मेलिन्डा गेट्सको वैवाहिक सम्बन्धको अन्त्य, विवाहको २७ वर्षपछि सम्बन्धविच्छेद

न्यूयोर्क, माइक्रोसफ्टका संस्थापक तथा सामाजिक क्षेत्रमा चर्चित धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्धविच्छेद भएको छ ।
उनीहरुले ट्विटरमार्फत २७ वर्षसम्म चलेको वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएका हुन ।

“हाम्रो सम्बन्ध र विचारमाथि धेरै काम गरेपछि हामी दुबैले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छौं ।” ट्विटरमा राखिएको वक्तव्यमा भनिएको छ ।

दुबै दम्पत्तिले बिल एण्ड गेट्स नामक दातृ संस्थाको स्थापना गर्दै स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अबौं डलर सहयोग गर्दै आएका थिए । सन् २००० मा स्थापना भएको उक्त संस्थाले स्वास्थ्य, गरिबी निवारणलगायतका क्षेत्रमा हालसम्म ५३.८ बिलियन अमेरिकी डलर खर्च गरिसकेको छ ।

“हामीले तीनजना अविश्वसनीय बच्चालाई हुर्कायौं र संसारभरिका जनतालाई स्वस्थ्य तथा उत्पादनशील जीवन बाँच्नका लागि काम गर्ने आधारस्तम्भ बनायौं ।” वक्तव्यमा भनिएको छ, “हामी हाम्रो त्यो मिसनमा विश्वास राख्दै फाउण्डेसनको काम भविष्यमा पनि सँगै गर्नेछौं । तर हामी जीवनको अर्को चरणमा भने पतिपत्नीका रुपमा सँगै काम गर्न सक्ने कुरामा विश्वस्त छैनौं ।”

मेलिन्डा गेटसले सम्बन्धविच्छेद पाउनका लागि किङ काउन्टी वाशिङ्टनमा निवेदन दिएकी थिइन । न्यायाधिशले दुबैले छुट्टिन गरेको सम्झौतापत्रका आधारमा निर्णय गरेका थिए । तर सार्वजनिक भएका कागजातहरुम सम्बन्धविच्छेदसँग जोडिएको कुनै पनि वित्तिय विवरण भने सार्वजनिक भएको छैन ।
बिल गेट्स संसारकै धनी व्यक्तिहरुमध्ये एक हुन । गत फेब्रुअरीमा उनको कुल सम्पत्ति १३७ बिलियन डलर थियो ।

६५ वर्षीय बिल र ५६ वर्षीया मेलिन्डाको भेट माइक्रोसफ्तमा नै भएको थियो । उनी त्यो बेला कम्पनीको सिइओ थिए । मेलिन्डाले भने प्रोडक्ट म्यानेजरको रुपमा काम शुरु गरेकी थिइन ।

सन् १९८७ मा दुबैको एउटा डिनर कार्यक्रममा भेट भएको थियो । सन् १९९४ मा दुबैले विवाह गरेका थिए ।
उनीहरुले के कति कारणले सम्बन्धविच्छेद गरेका हुन भन्ने कुरा खुलेको छैन ।

 

कमेन्ट गर्नुहोस्