राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्ताव आउँदा अस्वीकार गरें, प्रदेश प्रमुखबाट हटाइँदा खुशी छुः अमिक शेरचन

बैशाख । गण्डकी प्रदेशका सोमबारमात्रै पदमुक्त भएका प्रदेश प्रमुख अमिक शेरचनले पदमुक्त भएकोमा खुशी लागेको बताएका छन् ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले पदका लागि राजनीति नगरेको र पदमुक्त भएकोमा खुशी लागेको बताए ।

‘पदको लागी राजनीती गरेको व्याक्ति होइन्, पदमुक्त भएकोमा खुशी छ’, उनले भने । उनले पार्टीको निर्णयले आफू प्रदेश प्रमुख बनेको बताए । ‘पहिला ओली जी र प्रचण्ड जी मार्फत प्रस्ताव आउँदा ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको थिएँ, पछि पार्टीले निर्णय सुनाएपछि अनुशाशित कार्यकर्ताको नाताले बाध्य भै स्वीकार गरेको पद हो’, उनले भने ।

उनले भनेका छन्, ‘म पदको लागि राजनीति गरेको व्यक्ति होइन। पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिका लागि मलाई प्रस्ताव आयो। मैले अस्वीकार गरें। त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क. यज्ञदेव आले, क. निर्मल आले र क. मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरें। पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ।

सरकारले सोमबार उनलाइ प्रदेश प्रमुखबाट पदमुक्त गरि सीता पौडेललाइ गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो ।

मंगलबार पत्रकार सम्मेलनपछि नेता शेरचनले जारी गरेको प्रेस वक्तव्यको पूर्ण पाठः

आदरणीय पत्रकार साथीहरू,
प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ। यसबीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु। कार्यालयका कर्मचारी, सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरूबाट सहयोग र सम्मान पायौं। यहाँहरूप्रति आभार व्यक्त गर्दछौं।

पदमुक्त भएकोमा अत्यन्तै खुसी छु। मुरी मुरी धन्यवाद छ, राष्ट्रपतिज्यूलाई। पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो। पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो। अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन। पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिका लागि मलाई प्रस्ताव आयो। मैले अस्वीकार गरें। त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क. यज्ञदेव आले, क. निर्मल आले र क. मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरें। पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ।

सन्त नेता क. मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ। पद र सत्ताका लागि असंवैधानिक पद्धति र अपाच्य दृश्यहरू थोपर्ने पद जोगाउने व्यक्ति म होइन। न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ। म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान् पहरेदार नागरिक हुँ। श्रमजीवी, सर्वहाराजीवीको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्वा कार्यकर्ता पनि हुँ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतीकरण गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादविरुद्वको संघर्षहरू पञ्चायत कालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौताविरुद्धको संघर्षहरूमा मैले कुनै प्रकारका षडयन्त्र र गद्दारी गरेको छैन। न त अर्बौं कमिसन र भ्रष्टाचारमा डुबेको छु। बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण छ मसँग।

भ्रष्टाचार र कमिसनहरूको खेलमा दङदङगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म, बरु वैदेशिक हस्तक्षेप सन्धि–सम्झौता र भ्रष्टाचारविरुद्धका संघर्षहरूमा ४ वर्षजति जेल यातना र हजारौंपटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ। संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा हात करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटकपटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस्, कमरेड मदन भण्डारीको सुनियोजित हत्याविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने १७ दिनपछि होसमा आएको थिएँ।

आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ। दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरूको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम् बेलामा पार्टी पार्टीबीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ।

एकपटक सबैले निधार खुम्च्याएर सोचौं– दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तत्कालीन आन्दोलनकारी पार्टीहरूको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो।

यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिएँ। कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ। सरकारले जे प्रस्ताव ल्यायो, त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरूबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियमबमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिएँ। यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु। अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस्, यसका लागि पक्षधरताहरूबीचको सहकार्य र एकतामा अघि बढौं मेरो हार्दिक अपिल छ।
–अमिक शेरचन

कमेन्ट गर्नुहोस्