निर्णायक मोडमा माधव नेपाल: फेरि विश्वास गरेर धोका पाउने कि अग्रगमन रोज्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल निर्णायक भूमिकामा देखिएका छन् ।

संसदको अंकगणित हेर्दा माधव नेपाल समूहको समर्थनबिना ओलीले बहुमत प्राप्त गर्न सक्ने देखिँदैन । माधव नेपाल समूहका २७ जना सांसदलाई नेकपा एमालेको केपी ओली पक्षले यसअघि नै स्पष्टिकरण सोधिसकेको छ । यद्यपी उनीहरुलाई कार्वाही नै भने गरिसकेको अवस्था छैन ।

आगामी वैशाख २७ गतेदेखि बोलाइएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने बताएपछि जनता समाजवादी पार्टी र माधव नेपाल पक्षका सांसदहरुमाथि सबैको ध्यान गएको हो । जनता समाजवादी पार्टीभित्र पूर्व राजपा र सजपा पक्षका सांसदहरुबीच सरकारलाई हेर्ने दृष्टिकोणमा मतभिन्नता रहेको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायत सजपाका सांसदहरुले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । जबकि महन्थ ठाकुर र राजेन्द्रमहतोसहितका सांसदहरु भने ‘लेनदेन’ मिल्ने अवस्था भएमा ओलीलाई नै समर्थन गर्नुपर्ने बताइरहेका छन् ।

यो अवस्थामा जसपाभित्रको सबै मत ओलीलाई आउने देखिँदैन । पछिल्लो अवस्था हेर्दा माधव नेपाल समूहको सबै (एमालेको सबै) सांसदले समर्थन गरेको अवस्थामा केपी ओलीलाई सजपाका १५ जना सांसदले समर्थन गरे पुग्छ । यो अवस्थामा यादव र भट्टराई पक्षले समर्थन नगरेको अवस्थामा पनि ठाकुर र महतो पक्षका सांसदको समर्थनमा केपी ओलीले बहुमत हासिल गर्न सक्छन् । कैयन् कार्यकर्ताका मुद्दा फिर्ता गर्ने निर्णय गरेको ओलीले यो समर्थन पाउने सम्भावना नरहेको पनि होइन ।

याे पनि पढ्नुस  समाजवादी पार्टी र राजपाबीच किन गरियो रातारात एकता ?

तर प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका सबै सांसदले समर्थन गर्छन या गर्दैनन् भन्ने अहिलेको मुख्य चासो हो । माधव नेपाल समूहका २७ जना सांसदलाई स्पष्टिकरण सोधिसकेको अवस्थामा २७ सांसदले समर्थन नगर्ने अवस्थामा केपी ओलीको पक्षमा बहुमत पुग्दैन । माधव नेपालसँग ३५ देखि ४० जना सांसदको समर्थन रहेको दावी त्यो पक्षले गर्दै आएको छ ।

माधव नेपाल समूहको माग सर्वोच्चको निर्णयपछि नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपश्चात केपी ओली पक्षले गरेका सबै निर्णय खारेज हुनुपर्छ भन्ने छ । केप ीओली पक्षले गत फागुन २ गतेका दिन केन्द्रीय समितिको विशेष बैठक भन्दै गरेका निर्णय र त्यसपछिका सबै कामकारवाही फिर्ता हुनपर्ने माग ओली पक्षले स्वीकार गरेको छैन ।

अहिले यदि ओली पक्षले माधव नेपाल पक्षको समर्थन पाउनकै लागि यो माग स्वीकार गरेको खण्डमा माधव नेपाल पक्षले समर्थन गर्नसक्ने आँकलन केपी समूहभित्र गरिएको छ । यसका लागि कोशिस पनि भइरहेको देखिन्छ ।

याे पनि पढ्नुस  अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

यो बिन्दुमा माधव नेपालका अगाडि केपी ओलीलाई विश्वास गर्ने आधार छन् कि छैनन भनेर गहन र गम्भीर ढंगल विश्लेषण गर्नुपर्ने अवस्था आउने देखिन्छ ।
संकटमा पर्दा जस्तोसुकै सम्झौता पनि गर्ने तर संकटबाट उन्मुक्ति पाइसकेपछि त्यसको पालना नगर्ने कुरा ओलीका लागि नौलो होइन । तत्कालिन नेकपाभित्र दुई अध्यक्षको कार्यविभाजन र जिम्मेवारीका विषयमा चलेको विवादपछि आलोपालो सरकार र पार्टीको जिम्मेवारी लिने भन्ने पूर्व सहमति परिवर्तन भएपछि ओलीले देखाएको व्यवहारले यसको पुष्टि गर्दछ ।

नेकपा निर्माण हुँदा प्रचण्ड र ओलीबीच आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने भन्ने सहमति भएको थियो । तर पछि प्रचण्ड र ओलीबीच छलफल हुँदा प्रचण्डले उक्त सहमतिमा अधिकतम लचकता अपनाउँदै पाँच वर्षका लागि केपी ओली नै प्रधानमन्त्री र आफू पार्टीको कार्यकारी अध्यक्ष बन्ने सहमति गरे । प्रचण्डकै शब्दमा यो केपी ओलीलाई विश्वास गरेर लिइएको निर्णय थियो । तर यो नयाँ सहमति भएको एक हप्ता नबित्दै ओलीले एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै आफू नै कार्यकारी अध्यक्ष भएको दावी गरेपछि प्रचण्ड झसंग बनेका थिए । त्यसपछि नेकपाभित्रको विवाद झनै चर्किएको थियो । वामदेव गौतमसँग समेत बारम्बार यसप्रकारका सहमति हुने, संकटबाट पार पाउनेबित्तिकै ती सहमतिहरु भत्काउने घटना रहेका छन् ।

याे पनि पढ्नुस  युवाले आँट गरे नेपाल सबैभन्दा सभ्य र समृद्ध राष्ट्र बन्छः प्रचण्ड (भिडियोसहित)

अहिले माधव नेपालहरुका अगाडि यही प्रश्न तेर्सिएको छ । उनीहरुले संकटमा परेका केपी ओलीलाई लेनदेनका आधारमा समर्थन गर्ने या ओली प्रवृत्ति कुनै पनि हालतमा अग्रगामी हुन नसक्ने भन्दै प्रतिगमनकारी प्रवृत्ति परास्त गर्न भूमिका निर्वाह गर्ने ?

माधव नेपाल पक्षका पछिल्ला बैठकहरुमा यो विषय निकै गम्भीरताका साथ उठिरहेको छ । अहिले समर्थन लिनका लागि जे पनि सहमति गर्ने तर कुर्सी जोगिएपछि स्पष्टिकरण सोधिएका सांसदलाई कार्वाही गर्नसक्ने भन्दै नेपाल समूहभित्र सामूहिक राजीनामाको कुरा समेत उठेको छ । यद्यपी माधव नेपाल समूह राजीनामा दिने या फ्लोर क्रस गर्ने भन्ने विषयमा निक्र्यौलमा पुगेको देखिँदैन ।

माधव नेपाल समूहले अहिले तत्कालमा कसले के आश्वासन दिन्छ भन्ने आधारमा भन्दा ऐतिहासिकरुपमा कुन कुन प्रवृत्ति के कसरी विकास भइरहेका छन् र तिनीहरुले इतिहासका खासखास कालखण्डमा के कस्तो भूमिका निर्वाह गरे भन्ने आधारमा निर्णय गर्नु जरुरी हुन्छ । अग्रगमनको पहिलो शर्त भनेको नयाँ सरकार बनाउने भन्ने कुरामा नेपाली कांग्रेस समेत स्पष्ट भएको अवस्थामा माधव नेपाल समूहले यसतर्फ गम्भीरतापूर्वक विचार गरेर निर्णयमा पुग्नु उचित हुन्छ ।

कमेन्ट गर्नुहोस्