भारतमा कोरोनाको तेश्रो लहर आउने चेतावनी, एकैदिन ४ लाख १२ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले रेकर्ड तोडेको छ । पछिल्ला दुई दिनमा संक्रमण कम भएको देखिएपनि बुधबारका दिन भारतमा फेरि संक्रमण बढेको हो । बुधबारको तथ्यांक अनुसार, एकैदिन ४ लाख १२ हजार ३७३ जनामा कोरोना देखिएको छ । पछिल्लो समय केरलामा संक्रमण बढेको देखिएको छ । उता आन्ध्र र तमिलनाडुमा भने भाइरसको नयाँ प्रकार तीब्र गतिमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या समेत बढेको छ । बुधबार ३ हजार ९७९ जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च हो ।

यसैबीच भारतमा कोरोना संक्रमणको तेश्रो लहर आउन सक्ने चेतावनी समेत अनुसन्धानकर्ताहरुले दिएका छन् । यसअघि पहिलो चरणको कोरोनोका लहर चलेको बेला एकैदिन सबैभन्दा बढी संक्रमण करिब ९० हजार जनामा देखिएको थियो भने दोश्रो लहरमा हिजो बिहिबार ४ लाख १२ हजारमा देखिएको थियो । पहिलो चरणको शीर्ष (पिक) ९० हजार र दोश्रो चरणको पिक ४ लाख वरिपरि देखिएको विश्लेषण गर्दै तेश्रो चरणको लहर झनै खतरनाक हुनसक्ने बताइएको हो ।

यसैबीच भारतलाई बिभिन्न देश तथा संघसंस्थाले स्वास्थ्यसामग्री सहयोग गरेपनि उक्त सामग्री संक्रमितहरुसम्म नपुगेको भन्दै प्रश्न उठेको छ । सिएनएनका अनुसार, स्वास्थ्य संस्थाहरुमा अक्सिजन र अन्य सामग्रीको अभाव उस्तै रहेकोले अमेरिका सरकारले आफूले दिएको सहयोग कहाँ खर्च भयो भनेर जानकारी माग गर्नुपर्ने कतिपयले बताएका छन् ।

कमेन्ट गर्नुहोस्