चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

काठमाडौं । चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा. रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा. जिवेश बास्तोला राजीनामा दिएका हुन् ।

कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रूपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।

कोरोना महामारीका बेला चिकित्सकलाई राजीनामा नगर्न आग्रह गर्दा पनि तीनै जनाले राजीनामा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । चिकित्सकहरूले राजीनामा दिए पनि स्वीकृत भने भएको छैन ।

मेसु दासले आत्मसम्मानको लागि राजीनामा दिएको बताए । उनले अस्पतालमा स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नभएकाले बाध्य भएर राजीनामा दिएको बताए । उनले भने, ‘अस्पतालमा स्वतन्त्रपुर्वक काम गर्ने वातावरण छैन । चौतर्फी दबाव आउँछ । निर्णय गर्ने कुनै अधिकार दिएको थिएन । त्यसैले राजीनामा दिएका हौँ ।’ करारका चिकित्सक भन्दै अस्पतालका कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरूले पेल्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

नगरपालिकाले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णयसँगै नगरपालिका र चिकित्सकबीच सेवा सुविधाको विषयमा मतभेद उत्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्