एमाले विवादः हिजो के भयो र आज के हुँदैछ ? होला त निर्णायक वार्ता ?

काठमाडौं । विभाजनको डिलमा पुगेका नेकपा एकता बचाउन नेताहरु सक्रिय भएका छन् ।

विशेषगरि बिहीबारदेखि पहिलो तथा दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भएको भेट, एमालेका बरिष्ठ नेता नेपाल पक्षका डा. खिमलाल देवकोटालाइ राष्ट्रिय सभाको उपचुनावमा विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाउनु र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुअघि नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ओली झस्किए ।

त्यसपछि उनले नेपाल पक्षलाई फकाउन हदैसम्मको प्रयास गरेका छन् । उनी आफैं मात्रै सक्रिय भएका छैनन्, राष्ट्रिपतिदेखि दोस्रो, तेस्रो तहका नेतालाई माधव पक्षलाई फकाउन लगाएका छन् । तर, दुबै पक्षबीच हिजो बिहीबार विभिन्न चरणमा वार्ता भए पनि ठोस सहिमति भएको छैन र आज शुक्रबार पनि वार्ता हुने बताइएको छ ।

सहमतिको प्रयासमा बिहीबार एमाले वरिष्ठ नेता नेपाललाई बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी थिइन् । सोही भेटमा पछि अ‍ोली पनि सहभागी भएका थिए ।

याे पनि पढ्नुस  सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्माफेरेसिसु, के हो यो उपचार?

सो क्रममा ओली र नेपालबीच विवाद साँघुर्‍याउने समझदारी भएको छ । राष्ट्रपति भण्डारीलाई साक्षी राखेर ओली–नेपालबीच समानान्तर गतिविधि नगर्ने, विवादलाई थप नचर्काउने र स्पष्टीकरण पत्र थमाएर जवाफ माग गरिएका वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल पक्षका ३० जना नेता, सांसदहरूमाथिको कारबाही फिर्ता लिने समझदारी भएको बताइएको छ ।

राति शीतल निवासमा ओली र नेपालबीच सघन संवाद भएको स्रोतको दाबी छ ।

त्यसपछि ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई बिहीबार राति ११ बजेसम्म भेटेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले आफूले पार्टीलाई मिलाएर लैजान चाहेको बताएका थिए। भुसाल र भट्टराईले भने २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनु पर्ने प्रस्ताव राखेका थिए । तर ओलीले भने त्यसमा कुनै जवाफ दिएका थिएनन् ।

त्यसअघि बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेतमाहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गरेका थिए ।

याे पनि पढ्नुस  सरकारबाट बाहिरियो समाजवादी, यादव र राइले दिए राजीनामा

नेपाल पक्षीय नेतासँग अर्थमन्त्री पौडेलले पार्टी विवाद मिलाउनका लागि कार्यदल बनाउने प्रस्ताव राखेका थिए । तर नेपाल पक्षीय नेताले भने कार्यदललाई स्पष्ट कार्यादेश दिनुपर्ने भनेका थिए । त्यसमा भने पौडेल सहमत हुन नसकेको स्रोतको भनाइ छ ।

आफूहरूले जेठ २ मा फर्किनु पर्ने स्पष्ट अडान राखे पनि ओली पक्षीय नेताहरूले बीचको बाटो रोज्नमात्रै प्रस्ताव गरेको नेपाल पक्षीय एक नेताले बताए ।

विवाद समाधानकै लागि बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षीय नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए ।

सबै भेटघाट तथा वार्ता एमालेमा देखिएको विवादमै केन्द्रित छन् । तर, भेटवार्तामा सहभागी नेताहरुका अनुसार न शीतल निवासमा कुनै सहमति जुट्यो, न बालुवाटारमा ।

छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् । उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको उपचार गर्न बालुवाटारमै मेडिकल रुम बनाउने तयारी

निर्णायक वार्ता होला ?
नेकपा एमालेको विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आजै निर्णायक संवाद गराउन केही नेता लागेका छन् ।

बिष्णु पौडेल र सुवास नेम्वाङले ओली र नेपालबीच पनि संवाद गराउन प्रयास गरिरहेका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओली र नेपालबीच विहीवार पनि टेलिफोनमा कुराकानी भएको छ । आज पनि नेताहरुबीच औपचारिक अनौपचारिक छलफल भइरहेका छन् ।

ओली र नेपालबीच पार्टी कार्यालयमा भेटवार्ता हुने बताइएको छ । तर, समय निश्चित भएको छैन ।

एमाले स्रोतका अनुसार शुक्रबार नै परिणाम निस्कनेगरी संवादको प्रक्रिया अघि बढेको छ ।

कमेन्ट गर्नुहोस्