संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका थिए । तर, बैठक केही ढिलो गरि बसेको थियो ।

बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् ।

बैठकमा प्रमुख प्रतिपक्षका नेता कांग्रेस सभापति शेर बहादुर देउवा र सभामुख अग्नि सापकोट सहभागी छैनन् ।

शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले संवैधानिक निकायमा नियुक्त नगर्न ओलीलाई चेतावनी दिएका थिए ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।

हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन् भने समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

यसअघि संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता र सभामुख उपस्थित हुन नमानेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएको थियो । सभामुख र विपक्षी दलका नेताले असहयोग गर्दा संवैधानिक परिषद्ले लामो समयदेखि रिक्त रहेका संवैधानिक पदहरुमा नियुक्तिको सिफारिस गर्न सकेको थिएन ।

त्यही आधारमा यसअघि सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्मार्फत आयोगमा पदपूर्ति गरेको थियो । अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ ।

त्यसअघि पाँच सदस्यीय परिषद्ले सर्वसम्मतका आधारमा निर्णय गर्नसक्ने व्यवस्था रहेकोमा अध्यादेश ल्याएर विभिन्न आयोगमा पदपूर्ति गरेको थियो ।

प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको परिषद् बैठकले पदपूर्तिको सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्