जसपाको समर्थनकाे वैधानिकतामा प्रश्नचिन्ह: निर्वाचन आयोगको दस्तावेज अनुसार यादवको हस्ताक्षर अनिवार्य चाहिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको समर्थन आफूलाई भएको भन्दै प्रधानमन्त्री पदमा दावी गरेका छन् ।

तर उनले दावी गरेको जनता समाजवादी पार्टीको पत्र भने नेता उपेन्द्र यादवको हस्ताक्षरबिना अवैध हुने देखिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएपछि निर्वाचन आयोगमा बुझाएको दल एकीकरण गर्ने सम्बन्धमा पत्रमा बुझाएको विवरण अनुसार, ओलीलाई समर्थन गरिएको पत्रमा महन्थ ठाकुर र राजेन्द्र महताको मात्रै हस्ताक्षर रहेकोले कानुनतः उक्त पत्रको वैधानिकता नहुने देखिएको हो ।

निर्वाचन आयोगमा २०७७ जेठमा बुझाएको उक्त निवेदन पत्रको बुँदा ७ को (क)मा राजनीतिक दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिका रुपमा माननीय श्री महन्थ ठाकुर, केन्द्रीय अध्यक्ष र माननीय श्री उपेन्द्र यादव, केन्द्रीय अध्यक्ष रहने कुरा स्पष्टसँग उल्लेख छ ।

अध्यक्ष यादवले भने शेर बहादुर देउवालाई समर्थन गरेका छन् । यसअघि प्रतिनिधि सभामा विश्वासको मत लिने बेला यादव पक्षका १६ जना सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए । अहिले भने प्रधानमन्त्री ओलीले ती सांसदहरुको समेत आफूलाई समर्थन भएको दावी गरेका छन् ।

केही दिन अघि मात्रै यही प्रावधानका आधारमा सजपाका दुबै अध्यक्षले संयुक्तरुपमा विज्ञप्ती जारी गरेका थिए । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीको धारणा स्पष्ट पारेको थियो । त्यो बेलासमेत यादव र ठाकुरको संयुक्त हस्ताक्षर रहेको थियो ।

गत कार्तिक ४ गते जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा चयन गरेको थियो । यसैगरी केन्द्रीय समितिको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहँदै आएका थिए ।

पार्टीमा भएगरेका बिभिन्न सहमति तथा अन्तरिम विधानका आधारमा समेत पार्टीको आधिकारिक निर्णयका लागि दुबै अध्यक्षको हस्ताक्षर अनिवार्य हुने देखिन्छ । दुबै अध्यक्षबीच सहमति नभएकै कारण प्रधानमन्त्रीले लिएको विश्वासको मतका क्रममा जसपाले सांसदहरुलाई ह्विप जारी नगरी स्वविवेकीय अधिकार प्रयोग गर्ने निर्णय गरेको थियो ।

जसपाका ३२ जना सांसदको हस्ताक्षर भन्दै नेता ठाकुर र महतोले बुझाएको पत्र अवैध हुने प्रशस्त आधार रहेको अवस्थामा राष्ट्रपतिले उक्त समर्थन पत्रलाई भरपर्दो आधार मान्न सकिने स्थिति देखिँदैन ।

 

कमेन्ट गर्नुहोस्