बाढीका कारण महाकालीको टापुमा फसेका १० मजदुरको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ ।

पुलसँगै महाकाली नदीमा बनिरहेको टापूमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए ।

यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापूमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी, महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग (६ लेनको सडक) निर्माणका लागि स्थापना गरिएको कालोपत्रे प्लान्टलगायतका सवारीसाधनलाई क्षति पुर्‍याएको छ ।

याे पनि पढ्नुस  नेकपा नेता भाटद्वारा कञ्चनपुरका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुलका कामदारको बिहीबार मध्यरातमा समेत उद्धार गरिएको बताउनुभयो । ‘अझै कति मेसिन नदीले बगायो यकिन भएको छैन,’ उनले भने, ‘नदीमा पानीको बहाव घट्ने क्रममा छ ।’

उनले वडा नं १३ मा सेनाले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको स्थलमा समेत बाढी पसेकाले दाहसंस्कारमा समस्या भएको बताए । स्थानीय प्रशासनले शव व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्न त्यहाँ स्थलगत निरीक्षण गरेको छ ।

कमेन्ट गर्नुहोस्