पूर्व योजनाका साथ संसद विघटन गरियो– वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य

काठमाडौं । संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सुनियोजित तवरले प्रतिनिधि सभा विघटन भएको बताएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर फेरि पनि गरेको संसद विघटन संविधान अनुकूल र न्यायोचित नभएको उनको तर्क छ ।

शाक्यले यसअघि पहिलोपटक संसद विघटन गरिएपछि सर्वोच्चमा परेका रिटमाथि बहस गरेका थिए ।

सरकार गठनदेखि संसद भंगसमेतका कामकारबाही पूर्वनियोजित भएको देखिएको उनको ठम्याई छ ।

“विश्वासको मत लिनै पर्थ्यो नभए राजीनामा गर्नुपर्थ्यो। संविधानमै नभएको मार्गप्रशस्त गर्न पाइन्न। अनि राष्ट्रपतिले पनि एउटा प्रधानमन्त्री छँदाछँदै अर्को प्रधामन्त्री नियुक्ति प्रकृया थालिहाल्नु भयो” उनको जिकिर छ, “यो संविधानसम्मत थिएन। अहिले उपधारा ५ अनुसार विपक्षी दलका नेताले गरेको दाबीमा बिना कुनै छानबिन विश्वास नलागेको भन्दै संसद भंग गर्नुभएको छ। यो पनि निष्पक्ष निर्णय भएन। संसद विघटन गर्ने पूर्व योजनाका साथ काम भएको देखिन्छ।”

याे पनि पढ्नुस  प्रतिनिधि सभा विघटनविरुद्ध २४ रिट, केपी ओलीको पक्षमा ४ रिट दर्ता

प्रधानमन्त्रीले धारा ७६ को ३ अनुसार नियुक्त भएपछि राष्ट्रका अघि लिएको सपथ तीस दिनभित्र विश्वासको मत लिन्छु भन्ने वाचा भएको उनको तर्क छ।

“विश्वासको मत लिन सक्ने आधार नदेखेमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ” उनले भने, “राष्ट्रपतिले त संविधानअनुसार कामकारबाही भएको छरछैन हेर्ने, संविधानविदसँग सल्लाह गर्नेसम्म पनि गर्नुभएन। प्रधानमन्त्रीले जे गर्‍यो–गर्‍यो त्यही मान्यो। रबर स्ट्याम्पझैं त हुन भएन नि,” उनले भने।

याे पनि पढ्नुस  हेर्नुस् सुवास नेम्वाङको त्यो भिडियो, भनेका थिए– प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्

वरिष्ठ अधिवक्ता शाक्यले भने राष्ट्रपतिले गरेको निर्णय निष्पक्ष नभएको बताए। दुबै दलका दाबी परेपछि राष्ट्रपतिले हस्ताक्षर सनाखत गर्नुपर्ने उनको तर्क छ।

‘विपक्षी दलका नेता शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर बुझाएपछि त्यसको छानबिन गर्न सक्नुहुन्थ्यो। यी हस्ताक्षर आएका छन् कसैलाई यसमा विरोध छ कि छैन भनेर राष्ट्रपतिले भन्न सक्नुहुन्थ्यो। हस्ताक्षर सनाखत गर्ने समय दिन सक्नुहुन्थ्यो। निष्पक्ष निर्णय गर्न राष्ट्रपतिले खोजेको देखिएन,’उनले भने, ‘नयाँ सरकारको गठन प्रक्रिया नै देखावटीजस्तो देखियो। प्रतिनिधिसभा भंग गर्ने प्रि-प्लान भएको देखियो।’

कमेन्ट गर्नुहोस्