विदेशबाट श्रमिकले खर्च कटाएर अक्सिजन भर्न पठाएको रकम हस्तान्तरण

दाङ्ग । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुक कतार, साउदी, युएईमा र साईपरस, अस्ट्रेलिया, हङकङमा रहेका दङ्गाली तथा गैर दङ्गाली श्रमिकहरुले दैनिक खर्च कटाएर संकलन गरेको रकम हस्तान्तरण गरिएको छ ।

उनीहरुले पठाएको दुई लाख २० हजार रुपियाँ नेपाल पत्रकार महासंघ दाङ्ग, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही र बेलझुण्डी कोरोना हस्पिटल दाङ्ग, लमही कोरोना हस्पिटल, सिसहनिया कोरोना हस्पिटल देउखुरीलाई अक्सिजन भर्नको लागि हस्तान्तरण गरिएको हो ।

आईसोलेसनको लागि नेपाल पत्रकार महासंघ दाङ्ग, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अक्सिजन पलान्ट निर्माणको लागि र बेलझुण्डी कोरोना हस्पिटल, लमही कोरोना हस्पिटल र सिसहनिया कोरोना हस्पिटलमा अक्सिजन भर्नलाई हस्तान्तरण गरिएको छ ।

सामाजिक अभियान्ता योगेश श्रेष्ठको सक्रियतामा साउदी, युएई, साईपरस, पर्चुगल, हङकङ र अस्ट्रेलियामा रहेका नेपालीहरु एवं कतारस्थित दाङ्ग देउखुरी सेवा समाजको सहयोग तथा सहकार्यमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको दाङ्ग देउखुरी सेवा समाज संस्था दाङका अध्यक्ष लीलामणि लामिछानेले बताए ।

अक्सिजन सिलिण्डर रकम हस्तान्तरण गर्दै कतारका अध्यक्ष छबिलाल बुढाथोकीले कतारलगायत विभिन्न देशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरिरहेको बाँकी रकम छिट्टै हस्तान्तरण गरिने जानकारी दिए ।

पुर्ब अध्यक्ष नुमाकान्त सुवेदीले कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाउने सबै आर्थिक दातालाई धन्यवाद दिए ।

कमेन्ट गर्नुहोस्