कोरोनाको दोश्रो लहरले अर्थतन्त्रमा झनै चुनौती थप्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको दोश्रो लहरले निकै ठूलो चुनौती थप्ने बताएका छन् ।

एसियन क्लियरिङ युनियनको ४९ औं बोर्ड बैठकलाई सम्बोधन गर्दै अधिकारीले कोरोनाको दोस्रो लहरसँगै अनिश्चितता बढेकोले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका हुन ।

कोरोनाको गत वर्षको लहरले व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्रमा परेको असर विस्तारै पुनरुत्थानततर्फ उन्मुख हुँदै गएको बेला कोभिडको दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलिएको उनले जानकारी दिए ।

कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

बैठकमा गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई लक्षित दिशातर्फ अग्रसर गराउन राष्ट्र बैंकले गरेका विभिन्न नीतिगत व्यवस्थाबारे जानकारी गराएका छन । कोभिड संक्रमण यताको अवधिमा तरलताको सहजीकरण, ब्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण, कर्जाको सावाँब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको उनले बताए ।

कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानको निम्ति कर्जामा सहुलियत दिनेगरी पुनरकर्जा सुविधालाई परिमार्जन गरिएको र पुनरकर्जा कोषको सीमा बढाएर पाँच गुणासम्म पुनरकर्जा सुविधा उपलब्ध गराउन सक्नेगरी आवश्यक व्यवस्था मिलाइएको छ ।

कमेन्ट गर्नुहोस्