भुवन निस्तेजका दुई गजल: नयाँ छ लेबल सिसी पुरानै र कारखाना उही पुराना

गजल: १

अझै उही दाउ चल्छ जस्तो अझै बहाना उही पुराना,
नयाँ छ लेबल सिसी पुरानै र कारखाना उही पुराना ।

त्यसै बगाएँ कि रक्त मैले त्यसै नयाँ स्वप्न देख्न थाले,
तिमी भने गाई हिंड्न थाल्यौ अझै नि गाना उही पुराना ।

थियो हिजो जे त्यही छ ऐले र भोलि होला यही कहानी,
फगत् नयाँ नाउँ मात्र दिन्छौ सबै निसाना उही पुराना ।

म तार्छु खोला नदी म तार्छु समुद्र तार्ने म नै हुँ भन्छौ,
बुझ्यो लहरले उही बगर हौ र यी बहाना उही पुराना ।

दिएर नारा नयाँ फगत यो नयाँ त देखिन्न केही ऐले,
अझै दबेको छ हेर झुप्रो उठे घराना उही पुराना ।

मलाई निस्तेज भा’छ भन्दै नयाँ रहरका नवीन धुन ली,
न राग छेड्नू उनै पुराना न गाऊ गाना उही पुराना ।

सबै पदासीन यो सभामा नकाब पैरी बसिरहेछन्,
र भित्र बासी मुहार चैं छन् उही पुराना उही पुराना ।

गजल: २

भयो अनुभव सफरको अन्ततोगत्वा पुरानै
नयाँ गाडी थियो जसका थिए पुर्जा पुरानै ।

अँध्यारोमा उही कोसिस, उनै राँका पुरानै
छ उसको ज्युन खोज्ने फेरि हत्कण्डा पुरानै ।

भयो धेरै सहरका गल्लीमा गाउँ गुमेको
मिली खोजौं सबैले गाई त्यो भाका पुरानै ।

नयाँ संसार पो रे छन् उनै पर्खाल, खाडल
यहाँका हुन् अरे भन्छन् अधिष्ठाता पुरानै ।

यी आशा मर्न दिन्नन्, हारले बाँच्नै दिंदैनन्
दुबैमा हो निरन्तर यो प्रतिष्पर्धा पुरानै ।५।

मलाई चिन्न साहु सक्छ यस कारण कि सायद
सिरानीमा छ उसको त्यो बहीखाता पुरानै ।

तिमी पैह्री मुकुण्डो पोस्दछौ मेरा विरोधी
सहरका गल्लीमा सुन्छु म यी हल्ला पुरानै ।

नयाँ आशा, नयाँ अभ्यर्थना कसले गरेको
थियो पूजाविधि, मन्दिर अनि द्यौता पुरानै ।

ऊ मेरो बस्तीमा आयो भने के के न हुन्थ्यो
म बाकसबाट फेरि झिक्दथे माया पुरानै ।

तिमी जो पाखुरा बिर्सी रमायौ जोखनामा
निरर्थक हो, हुँदा धर्सा र हत्केला पुरानै ।

गजलको नाममा फेरि भुवन गर्ला अचाक्ली
थुपारी भाव खस्रा, शब्द झन् टर्रा पुरानै ।

कमेन्ट गर्नुहोस्