दुर्गाप्रसाद प्रसाईंले गर्ने सहयोग उज्ज्वल थापाको परिवारले नलिने

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको परिवारले उपचार खर्च व्यहोर्ने झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।

कलेजका कार्यकारी निर्देशक प्रसाईंले थापाको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको थिए ।

तर, थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उनले दिने भनेको सहयोग आवश्यक नपर्ने परिवारले जनाएको छ ।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन् ।

उनको हाल नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिबाटे उपचार भैरहेको छ ।

थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन् ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ ।

कमेन्ट गर्नुहोस्