सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो ।

त्यस्तै, पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपैयाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो ।

सोहीअनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।

त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३.५ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने पौडेलले बताए । नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइनेछ। जसअनुसार ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र २ खर्ब ५० अर्ब आन्तरिकबाट उठाइने उनले बताए ।

कमेन्ट गर्नुहोस्