फूटको अन्तिम बिन्दुमा जसपा, केन्द्रीय समितिमा अल्पमत हुँदा चेपुवामा ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई स्पष्टिकरण सोधेको म्याद आज समाप्त हुँदैछ ।

योसँगै जसपामा औपचारिक फूट हुने करिब निश्चितजस्तै देखिएहो हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनको अध्यादेश ल्याएपछि रातारात एकीकरण भएका जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । तर पछिल्लो घटनाक्रममा जसपाको पूर्व जनता पार्टी समूहले केपी ओलीलाई समर्थन गरेपछि पार्टी फूट नजिक पुगेको हो ।

यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि अब कार्वाही गर्ने बिन्दुमा उनीहरु पुगेका छन् ।

याे पनि पढ्नुस  जनता समाजवादीको दल दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोगमा निवेदन

अध्यक्ष ठाकुरले पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी यादवलाई दिएका थिए ।

​यादवका तर्फबाट पनि ठाकुर लगायतका नेतालाई सोही व्यहोराको पत्र पठाइएको थियो । यादवले ठाकुर पक्षलाई सोधेको स्पष्टीकरणको २४ घण्टे म्याद आज दिउँसो १ एक बजे सकिँदैछ । त्यसपछि उनीहरुमाथि कारवाही हुने जसपा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बताएका छन् । यादवका तर्फबाट अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण पठाइएको थियो ।

याे पनि पढ्नुस  ओलीले ठग्नेबाहेक केही गरेनन्, अब सित्तैमा समर्थन हुँदैनः राजेन्द्र महतो

स्पष्टिकरण र कार्वाहीपछि पार्टीको आधिकारिकताका लागि दावी गर्ने भएपनि ठाकुर पक्षलाई भने निर्वाचन आयोगमा आफ्नो पक्षको दावी पुष्टि गर्न अप्ठ्यारो पर्ने देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार केन्द्रीय समितिको बहुमतका आधारमा पार्टीको आधिकारिकता निर्धारण हुने हुन्छ । यो अवस्थामा कार्यसमिति र कार्यकारिणी समितिमा यादव पक्षको बहुमत रहेको छ । जबकि संसदीय दलमा भने महन्थ ठाकुर पक्षको बहुमत रहेको छ ।

याे पनि पढ्नुस  जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

संसदीय दलमा बहुमत भएर मात्रै पार्टी विभाजन गर्न नसकिने कानुनी व्यवस्था भएकाले ठाकुर पक्षले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसके उनलाई दलको आधिकारिता दावी गर्न कठीन हुने देखिन्छ ।

सम्भवतः आज स्पष्टिकरणको मिति कुरेपछि दुबै पक्षको बैठकले ठोस निर्णय गर्नसक्ने देखिन्छ । यो अवस्थामा जसपामा औपचारिक फूट हुने कुरा निश्चित जस्तै बनेको हो ।

कमेन्ट गर्नुहोस्