काम चलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिकः विपक्षी गठबन्धन

काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ ।

आइतबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता देव गुरूङले जानकारी दिए ।

उनका अनुसार सरकारले असंवैधानिक ढंगले चालेको कदमको प्रतिवाद गर्नेबारे बैठकमा छलफल भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मनपरी ढंगबाट बजेट ल्याएको र स्वेच्छाकारी ढंगले चलेको भन्दै त्यसका लागि सशक्त प्रतिकारमा उत्रने बताए ।

सरकारको कदमविरूद्ध उत्रनका लागि केहीबेरमा सबैको तर्फबाट संयुक्तरूपमा विज्ञप्ति जारी गर्ने तयारी गरिएको छ ।

प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्ण बहादुर महरा र देव गुरुङ, नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता थियो ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि बैठकमा सहभागी थिइन् ।

कमेन्ट गर्नुहोस्