वैकल्पिक राजनीति स्थापित गर्न भूमिका खेलेका थापाको निधनले राजनीतिमा अपूरणीय क्षति

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  उज्वल थापाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ । साथै, यही बिचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  विवेकशीलका नेता थापाको उपचार खर्च दुर्गाप्रसाद प्रसाईंले ब्यहोर्ने

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको बताइएको छ ।

‘खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उनको अहम् भूमिका रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ ।’

कमेन्ट गर्नुहोस्