एक सर्को अक्सिजनको खोजी

जहान छोराछोरी छाडेर खाडी छिरेका मजदुरहरुले आफ्नो रोटी घटाएर रेमिटेन्स पठाउँछन् । गास कटाएर अक्सिजन पठाउँछन् । विभिन्न अन्तर्राष्ट्रिय समुदायबाट पनि अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग भइरहेको छ ।

यद्यपी, त्यो कहाँ गएको छ ? पत्तो छैन । दैनिक अक्सिजन नपाएर बिरामीको मृत्यु भइरहेका खबरहरुबाट सायद सरकार बेखबर छ । किनकी ऊ कमाउ धन्दामा मस्त छ ।

कमिसनको क्यासिनोमा परेड खेलिरहेको वर्तमान सरकार कसरी कुर्सी जोगाउने र भ्रष्टाचारको खाडललाई कुन जुक्ति लगाएर झनै फराकिलो बनाउने भन्ने वादविवाद प्रतियोगितामा जोडबल लगाएर सरिक बनेको छ । जसरी पनि नतिजा आफ्नै खल्तीमा पार्न अध्यादेश नामक खेस्रो बोकेर कन्दनी कसेरै बसेको छ । किन कि सरकार लुटतन्त्रमा व्यस्त छ ।

एक सरो स्वास फेर्नुस् । र, सम्झिनुस्, छुट्याउनुस पैसाको आँठो । अनि पहिल्याउनुस्, त्यो गम्भीर गाँठो ।

अर्कोपल्ट झपार्नुस् । आफै दुत्कार्नुस्– ती हातहरुलाई ! जुन हातले अंगुर फल्ने सुनौंला सपना सजाएर हामीले आफ्नै बलेनीमा खिर्रा प्रजातिको अगतिलो त्यान्द्रो झुण्ड्याएका थियौँ । फलतः आज त्यसैको परिणाम टुलुटुलु हेरेर उसैतिर धारेहात लगाउनुको विकल्प छैन ।

महामारीले स्वास्थ्यक्षेत्र अस्तव्यस्त छ भने सरकारी रवैयाले गैरजिम्मेवार एवं संवेदनहीनताको सिमारेखा पार गरेको छ ।

प्रिय पाठक वृन्द, कोरोना कहरको यो मर्माहत अवस्थामा सचेतता अपनाउँदै यसलाई पराजित गर्ने धाउन्नमा हामी लागि परेको बखत, फेरि पनि हुकुमी शासन लाद्ने दुस्साहस गरिँदैछ । गरिब, असहाय र दिनदुःखी एउटा अक्सिजन नपाएर चितामाथि जलिरहेको छ । यद्यपी, देशको शासक बहुमतको घमण्ड देखाउँदै बालुवाको बाँध तेर्साएर आफ्ना नन्दी भृङ्गी नचाइरहेको छ ।

ऊ सँग जनमारा चुनावमा खोलो बगाउन राज्यकोषको अकूत पैसा छ । तर, यो नाथे जीवनरक्षक खोप माग्न ङिच्च हाँस्दै संसारभरि हात पसारिराख्या छ । समग्रमा यो सरकार कोरोना कहरको यस संवेदनशील घडीलाई कमाउ धन्दाको रुपमा भरपुर उपयोग गरिरहेको छ ।

एउटा सन्की शासक हज्जारौं जनताको खुन, पसिनाबाट सिर्जित संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिहरुको बुइगलमा ओछ्यान लगाएर संविधानमाथि मनलाग्दी बुट बजारी रहेको छ । जनता रोग, भोक र अभावको मरुभूमिमा एक सर्को अक्सिजनका खातिर विलाप गरिरहेका छन् ।

हिजो महाकाली सन्धि गरे बापत् वार्षिक १ खर्ब २० अर्ब रुपैयाँ आम्दानी हुन्छ भन्दै लिपुलेकमा भारतीय डोजर जोताउनेहरु नै आज सामन्त गोयलसँग अँध्यारो कोठाभित्र साउती मार्दै गर्दा हामीले ‘दालमे बहुतै काला है’ भन्ने आँकलन गर्न सायद अब राष्ट्रपतिको अध्यादेश पर्खिन नपर्ला कि ?

महाकाली सुम्पिए झैँ फेरि पनी एमसिसी नामको अर्को फण्डा ल्याएर देशलाई विदेशीको क्रिडास्थल बनाउन उद्दत वर्तमान सत्ता र उसका अर्दलिहरु एमसिसी पासको चोर बाटो पत्ता लगाउन मरिहत्ते गरेर लागि परेका छन् । सक्दो अहिले नै कुम्ल्याउने धाउन्नमा मस्त र व्यस्त छन् । के थाहा ? भोलि त्यो लुट्ने तिथि जुर्ने हो कि नाइँ ।

त्यसैले त आफ्नो सामान्य टाउको दुख्दा राज्यकोषको करोडौं झ्वाम पार्नेहरु एक सर्को अक्सिजनको खोजिमा हिँडेका ख्याउटे अनुहारप्रति एकरत्ति चिन्तित छैनन् ।

कमेन्ट गर्नुहोस्