राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले हटाए खोपबारे ‘हचुवाका भरमा’ गरेको भ्रामक ट्वीट

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले अमेरिकाबाट आउबन लागेको ५० लाख डोज खोपबारेको भ्रामक ट्वीट हटाएका छन् ।

बिहीबार राति अमेरिकी राष्ट्रपति जो बाइडेनले २ करोड ५० लाख डोज कोरोना भाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमा नेपालले ५० लाख डोज खोप पाउन लागेको लेखेका थिए ।

तर, अहिले भने ढकाल र थापा दुबैले उक्त ट्वीट हटाएका छन् ।

अमेरिकाले कुन देशलाई कति डोज खोप दिने भन्ने खुलाएको छैन । त्यसर्थ, नेपालले कति खोप पाउने भन्ने पनि टुङ्गो लागेको छैन ।

राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले नै गलत सूचना दिँदै ट्वीट गरेको भन्दै आलोचनापछि भएपछि उनीहरुले ट्वीट हटाएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारहरूले खोपजस्तो संवेदनशील विषयमा हचुवाका भरमा ट्वीट गरेको भन्दै अहिले आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्