संसद विघटन गर्ने पक्षमा भोट दिन्न–मनाङे, गुरुङ मन्त्रीमण्डल धरापमा

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिन नसक्ने बताएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार जोगिएको थियो । यद्यपी उनी अल्पमतमा परेका थिए ।

सरकार जोगाउन निर्णायक बनेका सांसद दीपक मनाङेले मुख्यमन्त्री गुरुङलाई समर्थन गर्न नसक्ने बताएपछि आज भने गुरुङले विश्वासको मत पाउने सम्भावना कम रहेको छ । मनाङले साथ छोडेपछि नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

गत वैशाख १५ गते मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आज प्रदेशसभामा विश्वासको मत लिन गइरहेका हुन ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि उनले बहुमत पाउने सम्भावना बढेको थियो । बहुमत नपाएको खण्डमा प्रदेश सभा विघटन गरी ताजा जनादेशतर्फ जाने तयारी गुरुङको रहेको थियो । मनाङेले भने प्रदेश सभा विघटन हुने अवस्थामा मुख्यमन्त्रीलाई समर्थन गर्न नसक्ने बताएपछि घटनाक्रम मोडिएको हो । हिजो साँझ बोलाइएको बैठकमा मनाङे अनुपस्थित भएका थिए ।

मनाङेलाई मनाउन एमाले नेता राजीव पहारीसहितले भेट गरेपनि मनाङेले भने साथ दिन नसक्ने बताएका छन् ।
अनलाईनखबरमा प्रकाशित समाचार अनुसार, मनाङेले सांसद संख्या ३१ पुर्‍याएर आउँनोई साथ दिने तर प्रदेशसभा विघटनको कुरा लिएर आउनेलाई साथ दिन नसक्ने स्पष्ट जवाफ दिएका छन् ।
‘जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ, उसैलाई सहयोग गर्छु तर संसद विघटनको पक्षमा जान्नँ,’ मनाङेले भनेका छन् ‘संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ?’

एमालेले फकाउन सक्ने भएकाले आफू केही समय चुपचाप बस्ने मनाङेले बताए । ‘म एउटाका कारण सबै सांसदको पद र प्रतिष्ठा बच्छ, संसद बच्छ भने मैले किन निर्णय नगर्ने ?’ मन्त्री बन्नका लागि कित्ता परिर्वतन नगरेको भन्दै मनाङले भने, ‘संसद विघटन कोरोनाभन्दा पनि ठूलो रोग बन्यो, केन्द्रबाट प्रदेशमा सर्‍यो ।’

कमेन्ट गर्नुहोस्