गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुबा गुरुङ विश्वासको मत पाउन असफल भएका हुन् ।

आज प्रदेश सभामा उनले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेस गरेका थिए । तर, विश्वासको मतमाथि भएको मतदानमा उनी विश्वासको मत पाउन असफल भएका हुन् । योसँगै उनी स्वतः पदमुक्त भएका छन् ।

विश्वासको मतको पक्षमा २७ मत र विश्वासको मतको विपक्षमा ३० मत खस्यो । एक सांसदले भने तटस्थ बसे । एकजना प्रदेश सभा सदस्य अनुपस्थित भए ।

गुरुङलाई एमालेका २७ जनाले मत दिए भने विपक्षमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसदले मतदान गरे ।

राष्ट्रिय जनमोर्चाले कारबाही गरेका गण्डकी प्रदेश सांसद कृष्ण थापा तटस्थ बसेका छन् भने राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित भए ।

आज प्रदेश सभामा ५८ सांसद उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्