कोभिड संकटः ठगी तथा कालोबजारी नियन्त्रण

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) अनुसार एशियाली क्षेत्रमा कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमणमा तीव्र रुपले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भैरहेका छन् । यो लेख तयार पार्दा सम्म पछिल्लो दुई महिना भरि निरन्तर रूपमा यस क्षेत्रमा १७,७००६७, लाखभन्दा बढी नयाँ सक्रिय सङ्क्रमित थपिएका छन् भने केही ठाउँहरूमा सङ्क्रमण पुष्टि हुने दर उच्च वृद्धि भैरहेको छ ।

आमनागरिकहरुले विगतका कष्टकर करिब डेढ बर्षमा आफू र आफ्ना मान्छेलाई बचाउन सम्भव भएसम्मका सबै उपाय लगाइसके । तर पनि हामी अझै विश्वव्यापी महामारीको चरम र उच्च जोखिम अवस्थामै छौं । विशेषगरी विश्वका केही देशहरू सामान्य अवस्थातर्फ उन्मुख भैरहँदा यस क्षेत्रका सबै देशहरूमा आगामी दिनको चुनौतीको अवस्थालाई मध्यनजर गर्दै हाम्रा प्रतिकार्यहरू कायम राख्नु र अझ बृहत् बनाउनु आवश्यक छ ।

महामारीको दोस्रोचरण सङ्क्रमितको संख्यामा जे जति भए पनि सार्वजनिक स्वास्थ्य प्रणालीको अनुगमन र क्षमता विस्तार अनिवार्य गरिनुपर्छ । यसले सङ्क्रमितको संख्या बढेको अवस्थामा स्थान, कर्मचारी र अक्सिजन एवं बेडसहितका आवश्यक सामग्रीको उपलब्धता वृद्धि गर्न र सम्बन्धित स्वास्थ्य संस्थाहरूबीच समन्वयलाई मद्दत पुर्याउन नियमितरूपमा योजना लागू गरिनुपर्छ । यता कोरोनाको कष्टकरले गम्भीर मारमा जनजीवन अस्तव्यस्त छ भने यसैबीच महासंकटको बेलामा दैनिकी उपभोग्य, खाद्यान्न, खानेतेल, तरकारी तथा फलफूलजस्ता उपभोग्य सामग्रीलगायत स्वस्थ्य सामाग्री, औषधिहरुको अवैैधानिक र बिना मापदण्ड मूल्यवृद्धि हुनु नियमित रुटिन जस्तै भैसक्यो ।

निरन्तर कोरोना महामारीमा थोरै पनि मानवीय संबेदनशिलतालाई ख्याल नै नराखी जीवनको दोधारमा हस्पिटलका बेडमा छटपटाईरहेका बिरामी र एक छाक जोहो गर्न मुस्किल पर्ने मानिसहरूलाई औषधिलगायतका अत्यावश्यक स्वास्थ्य उपचार सामग्रीहरूमा समेत आफुखुशी मूल्यमा बिक्री भैरहेका छन् ।

संकटको बेलामा मुल्य वृद्धि मात्रै बढाइएको छैन, बजारमा नक्कली र गुणस्तरहीन सामाग्री पनि फस्टाएको छ । यसबाट बिहान बेलुकीको छाक टार्ने नागरिकहरु तथा गरिब दुखी बिरामीको स्वास्थ्यमै गम्भीर असर परिरहेको र पर्न सक्ने अवस्था छ । यस्तो ठगी धन्दा रोक्न प्रहरी प्रशासनले केही प्रयास गरेको जस्तो देखिए पनि त्यो पुर्ण भने छैन । तिनै असहाय, गरिवको निम्ति बाधक मात्र नभएर आम जनस्वास्थ्यकै गम्भीर प्रश्न पनि भएकाले यस्तो ठगी रोक्न सरकार र मातहतका सम्बन्धित निकायहरुले यस्ता विषयमा चासो दिएर कार्यन्वयन गर्नुपर्छ ।

ठगिनबाट जोगिन सबै नागरिक पनि सचेत रहनुपर्छ । यस्तो धन्दाबारे जानकारी राख्ने सम्बन्धित निकायवालालगायत सर्र्वसाधारणले पनि प्रहरी, प्रशासनलगायतका विभिन्न मातहतमा रहेका संयन्त्रमा सूचना दिएर ठगीमा लागेकाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने वातावरण बनाउनुपर्छ ।

सक्रिय संक्रमित र उपचारका लागि अस्पताल पुग्नेहरूका लागि स्वास्थ्य सामाग्रीहरु यही मौकामा यिनको कालोबजारी मात्र भएन, नक्कली तथा गुणस्तरहीन सामाग्रीहरुको पनि बेचबिखन मौलाएको हो । सबैले गम्भीरतापूर्वक ध्यान पुराउनु पर्छ । बजारमा गुणस्तरहीन सामग्री बिक्री वितरण नहोस् भनेर सम्बन्धित सबै निकायले अनुगमन बढाउनुपर्छ ।

ठगी तथा कालोबजारी कार्य रोक्न प्रहरीले मात्र प्रयास गरेर हुँदैन, कानुनी प्रक्रियासँगै आपूर्ति, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र औषधी व्यवस्था विभाग जस्ता निकायहरूले पनि आवश्यक अनुगमन तथा कामकारबाही गर्नुपर्छ । नागरिकहरु गम्भीर मारमा परिरहँदा जिम्मेवार निकायहरू कुनै पनि छलकपट नगरीकन निस्वार्थ भावनाले एक कदम अघि बढनुपर्छ । अन्यथा यस्तो कार्यमा उनीहरूको समेत सहकार्य र समर्थन भएको अर्थ लाग्छ ।

जसरी हुन्छ, सम्बन्धित सबै निकायहरूको सक्रियतामा बजारमा भैरहेको अवैैधानिक धन्दा रोकिनुपर्छ । ठगी तथा कालोबजारीमा लाग्नेहरुलाई हदैसम्मको सजाय दिलाउन कसैको दवाब र प्रभावमा नपरीकन उपयुक्त कानुनी प्रक्रियामा अघि बढाउनुपर्छ ।

सामानलाई गुणस्तर अनि राम्रो भनी झुक्याई बेचेको र यस्ता गलत कार्यमा लागेकाहरुलाई निरुत्साहित बनाई प्रावधानअनुसार पनि कारबाही गर्न कानुनी प्रक्रिया अपनाउन सकिन्छ । त्यसैले यसका निम्ति प्रहरी प्रशासनलगायतका सम्बद्ध निकायहरूको पनि जिम्मेवारीपूर्वक इमान्दारीका साथ सक्रिय भुमिका खेल्न जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्